काठमाडाैँ- आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ।
डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो।
नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे।
नेपालका लागि चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए। लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे।
नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए।


