डालास- टी–२० विश्वकपमा समूह डी अन्तरगतको खेलमा श्रीलंकाले बंगलादेश सामु जितका लागि १ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको हो।
श्रीलंकालाई ठुलो स्कोर बनाउनबाट रोक्न रिसाद होसेन र मुस्तफिजुर रहमानले कसिलो बलिङ गरे। होसेनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए। रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट हात पारे। त्यस्तै, तास्किन अहमदले २ विकेट लिए।
यता, श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए। उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाए। चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे।
भेटरान खेलाडी एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए भने कुशल मेन्डिसले ८ बलमा १० रनको योगदान दिए।


