काठमाडौँ- प्रतिनिधिसभा सदस्य मनिष झाले उच्च शिक्षा अध्ययनका विदेश जाने विषयलाई नराकात्मक रुपमा लिनु नहुने बताएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले आइतबार काठमाडौंमा आयोजना गरेको उच्च शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम ‘एडुक्लेभ’मा सहभागी हुँदै झाले वैदेशिक शिक्षा आर्जन गर्ने कुरालाई खर्चका रुपमा नभई लगानीका रुपमा लिनुपर्ने बताएका हुन्।
‘वैदेशिक शिक्षाका लागि नेपालबाट जाने विद्यार्थीहरूको क्रम बढ्दो छ,’ फ्याक्ट्स नेपालका संस्थापक समेत रहेका सांसद झाले कार्यक्रममा भने, ‘त्यसकारण बाहिरको शिक्षालाई विरोध भन्दा पनि सदुपयोग कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो।’
विदेशमा अध्ययन गरेर स्वदेश फर्किएकाहरुले नेपाली समाजमा उल्लेख्य योगदान पुर्याएको भुल्नु नहुने सांसद झाको भनाइ थियो। विश्व नै एउटा गाउँ जस्तो भएका बेला विद्यार्थीलाई विदेश पढ्न नजाऊ वा विदेश पढ्न जानाले पैसा बाहिरियो भन्नु व्यावहारिक नहुने सांसद झाको भनाइ थियो।
‘नेपालमा अभिभावकहरूमा सन्तान हुर्काउँदा र शिक्षा आर्जनका लागि बाहिर पठाउँदा स्पष्ट उद्देश्य हुनुपर्छ,’ उनले भने, ‘बाहिर पढ्न गएर उतै हराउँछन् भन्ने हुँदैन। स्वदेश फर्किएर योगदान गर्ने, पेशा–व्यवसाय गर्ने पनि उत्तिकै छन्। रेमिट्यास भित्र्याउने उनीहरु नै हुन्।’ उच्च शिक्षा, ज्ञान र सीप आर्जन गरेपछि स्वदेश फर्काउने वातावरण बनाउनेतर्फ राज्यको ध्यान जानुपर्नेमा झाले जोड दिए।


