काठमाडौँ- नुवाकोटकी एक युवतीलाई मनमाया घलेले फोनमार्फत चिनियाँ केटासँग बिहे गर्न प्रस्ताव गरिन्। गरिबीको दलदलमा पिल्सिएका युवतीलाई चिनियाँसँग बिहे गरेको अवस्थामा साच्चै राम्रो हुन्छ भन्ने विश्वास मनमायाले दिलाइन्। काठमाडौंको ठमेलस्थित नर्सिङ चोकको एउटा होटलमा चिनियाँ केटासँग ती युवतीको भेट गराइन्।
चिनिया युवा भेटेपछि युवती विवाहका लागि राजी भइन्। मनमायाले ‘अदालतमा गई विवाह दर्ता गर्नुपर्छ, नत्र चीन जान पाइँदैन’ भनेपछि बिहे दर्ताका लागि अदालत पुगे। २०७९ चैत्र १३ मा काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता भयो। ती युवती चिनियाँ पुरुषसँग विवाह गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पतिको घर चीन पुगिन्। चिनियाँको घरमा नेपाली बुहारीसँगै एजेन्ट मनमाया पनि भित्रिएकी थिइन्।
त्यसको भोलिपल्टै नाम थाहा नभएको अर्कै सहरका लागि मनमाया घरबाट निस्किइन्। परिवार र आफ्नो भविष्य सुन्दर हुने सपना बोकेर विवाह गरी त्यहाँ पुगेकी युवतीले सोचेभन्दा ठ्याक्कै उल्टो व्यहोर्नुपर्यो। तर, त्यहाँ उनले आफ्नो भन्ने कोही पाइनन्। न पति आफ्ना रहे, न घरपरिवार। उनको जीवन अन्धकारले छोप्न थाल्यो। पतिले उत्तेजनाको औषधि सेवन गरेर पशुवत व्यवहार गर्न थाले। घरबाहिरको सानो झुपडीमा राखेर ती युवतीलाई परपुरुषहरूसँग पैसा लिई वेश्यावृत्तिमा लगाउन थाले। परपुरुषसँग सम्पर्क अस्वीकार गरेपछि ज्यान मार्ने धम्की दिइयो। नेपाल फर्काउन बिलौना गरेपछि बल्ल थाहा पाइन्- एजेन्ट मनमायाले उनलाई ५ लाखमा बिक्री गरेकी रहिछन्।
जबर्जस्ती वेश्यावृत्तिमा लगाएकाले उक्त स्थानबाट साथी सरिताको सहयोगमा युवती उद्धार हुन सफल भइन्। नेपाली दूतावासको आग्रहमा उनी बसेकै घरबाट चिनियाँ प्रहरीले उनलाई उद्धार गरेको थियो। चीन सरकारकै सहयोगमा हवाईमार्फत केही महिनाअघि ती पीडित नेपाल फर्किएकी छन्।
यसरी विवाहको नाटक गरेर चीन पुर्याएर वेश्यावृत्तीमा लगाइएकी उनी एक्ली भने होइनन्। यस्तो गिरोह लामो समयदेखि सक्रिय छ। २०७६ सालमा नुवाकोटको मुगा गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीय एक युवतीलाई उनकै साथी बिबिरानी तामाङ, रोज तामाङ, माया तामाङ र कृष्ण कुमार घलेले राम्रो रोजगारीको सुविधा भएको भन्दै भिजिट भिसामा चीन पुर्याए। चीनमा एक चिनियाँ पुरुषसँग उनको विवाह गराइयो। विवाहपश्चात ती युवतीलाई वेश्यावृत्तिमा लाग्न बाध्य पारियो। २०७६ असोज २७ गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरीपछि अनुसन्धानका क्रममा रिना भनिने बिबिरानी तामाङ र रोज तामाङलाई पुर्पक्षका लागि थुनामा राखिएको र माया तामाङ र कृष्णकुमार घले भने धरौटीमा रिहा भएका थिए।
त्यसैगरी २०७७ सालमा बबरमहल (नाम परिवर्तन) सँग किरण तामाङ भन्ने किरणसिंह सुवेदी सामाजिक सञ्जाल फेसबुकबाट साथी बने। उनले युवतीलाई नेपालमा बसेर थांकाको काम गर्दा दु:ख हुने र पैसा पनि नहुने भएकोले चिनियाँ केटासँग विवाह गरेर चीन पठाइदिने प्रस्ताव गरे। त्यसपछि उनले चिनजानका दुई जना चिनियाँ नागरिकसँग भेटाएर चीन जान आफ्नै खर्चमा पासपोर्ट, भिसालगायतका कामगजपत्रहरु बनाए। त्यसपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती युवतीलाई उनले ताम्पु थोङ नाम गरेका चिनियाँको जिम्मा लगाएर आफू फर्किए। ती चिनियाँले पनि बबरमहललाई देहव्यापारमा लगाए। उजुरीपछि अनुसन्धान गरी किरण तामाङलाई ७ वर्ष ६ महिना जेल सजाय सुनाइएको छ।
२०७६ भदौ मा लमजुङकी रिना (नाम परिवर्तन)लाई उनकै साथी अमृता गुरुङले विवाह गरेर चीन जाने भए चाइनिज केटा खोजिदिने बताइन्। साथीले धेरै जना अन्य युवतीहरुको पनि चाइनिज केटासँग विवाह गरिदिएको र सुख पाउछेउ भन्दै उनलाई फकाइन्। चाइनिजसँग विवाह गरेर गएपछि राम्रो कमाइ हुने, परिवारका सदस्यहरुलाई समेत चाइनिज केटाले आर्थिक सहयोग गर्ने प्रस्ताव आएपछि निम्न परिवारमा जन्मिएकी रिना विवाह गर्न तयार भइन्। परिवार पनि राजी भयो। त्यसपछि अमृताले रिनालाई लमजुङबाट काठमाडौं ल्याइन्। ब्युटि पार्लर लगिन्। नयाँ कपडा किनिदिइन्। साँझ परेपछि टोखामा पार्वती गुरुङलाई भेटाइन्। पार्वतीले उनीहरुलाई छुट्टै फ्ल्याटमा लगेर राखिन्। लमजुङबाट आएको १० दिनमा नै उनको एक चाइनिज केटासँग बिहे गर्ने पक्का भयो र सबै कागजातको प्रबन्ध पनि साथीले नै मिलाइदिइन्। काठमाडौं जिल्ला अदालतमा गएर उनीहरुले कोर्ट म्यारिज पनि गरे। भदौ ११ गते रिनासहित २ युवती आफ्ना श्रीमानसँग चीन जाने पक्का भयो। उनीहरु त्रिभुवन विमानस्थल पुग्ने वित्तिकै मानव बेचबिखन ब्युरोले उनीहरुलाई नियन्त्रणमा लियो र रिना बेचिनबाट जोगिइन्।
एक युवतीलाई विवाह गराए बापत चिनियाँ दलालले १० लाखसम्म, नेपाली दलालले १-२ लाख, युवतीहरु राख्ने नेपाली दलालले असी हजार, युवतीको अभिभावकलाई ५०-६० हजार दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यसरी कयौं नेपाली युवती चीनका विभिन्न सहरका वेश्यालयमा बेचिएको हुनसक्ने प्रहरीको अनुमान छ।
नेपाली र चिनिया दलालहरुले गाँउदेखि चीनसम्म आफ्नो संजाल फैलाई संगठित रूपमा पैसाको लेनदेन गरी/गराई विवाहको नाटक गराई नेपाली चेली बिक्री गर्ने गरेका छन्।
मानव बेचबिखन अनुसन्धान व्युरोको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म २७८ महिला र ८० पुरुषले जाहेरी दिएका छन्। जसमा ६६९ जनालाई अभियुक्त बनाइएकोमा २३७ जना पक्राउ परेका छन्। आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म बेचबिखनको जोखिममा रहेका २४ सय २७ जनाको उद्धार गरिएको छ।
सुविधाविहीन गाउँकी सोझासाझा युवतीहरु चीनको विभिन्न सहरमा बेचिइरहेका छन्। सन् २०१९ मा राष्ट्रिय मानव अधिकार आयोगले १५ लाख नेपालीहरू मानव बेचबिखनको जोखिममा रहेको अनुमान गरेको थियो। मानव तस्करहरूले सीमित आर्थिक अवसर भएका र परम्परागत रूपमा सीमान्तकृत जातहरू र जातीय अल्पसङ्ख्यक समुदायहरूका अशिक्षित युवतीहरूलाई निशाना बनाउने गरेका छन्।
अहिले हरेक नेपाली विदेशिने सपना बोकेर कुरिरहेको छ, पासपोर्ट बनाउने उमेर र भिसाको मिति। उनीहरुलाई विदेश पठाउन लागिरहेका छन्, दलाल बनेर आफन्तहरु। यस्तै विदेश जाने, सुखको जिन्दगी बाँच्ने र परिवारलाई पनि खुसी दिने सपना बोकेका नेपाली चेलीहरु धमाधम चीनमा बेचिरहेका छन्।


