काठमाडौँ- विभिन्न माग राखी आन्दोलन थालेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारका प्रतिनिधिबीच सोमबार पुनः वार्ता भएको छ। सोमबार दिउँसो रक्षा मन्त्रालयमा छलफल भएको हो।
रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीसँग छलफलमा बसेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई दुई पटक फोन गरेको महावीर पुनले जानकारी दिए।
‘छलफल सकारात्मक छ। रक्षामन्त्रीसँग कुराकानी गरिरहेका बेला पनि प्रधानमन्त्रीले २ पटक फोन गर्नुभयो। अहिलेसम्म सकारात्मक छ,’ उनले भने।
वार्ता सकारात्मक भएको पुनको भनाइ छ। उनका अनुसार भोलिसम्ममा समझदारीमा पुग्न सकिने वातावरण बनेको छ। ‘हामीले उठाइरहेका माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको छ,’ पुनले भने, ‘भोलिसम्म सहमति होला।’
अध्यक्ष पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा सरकारले ठोस सहयोग गर्नुपर्ने भन्दै केही दिनदेखि माइतीघरमा धर्नामा छन्। हरवर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्नेलगायतका उनका माग छन्।


