काठमाडौँ– मुख्यसचिव डा वैकुण्ठ अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकी सचिव लीलादेवी गड्तौला स्वतः निमित्त मुख्यसचिव भएकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालविरुद्ध मुद्दा दायर गरेसँगै निलम्बनमा परेका हुन्।
आयोगको ऐन अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार मुख्यसचिव डा. अर्याल निलम्बनमा परेका हुन्।
स्वतः निमित्त मुख्य सचिव भएकी गड्तौला प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव हुन्।
सरकारले तत्काल मुख्यसचिव नियुक्ति गर्न चाहे वरिष्ठ सचिवहरूमध्येबाट उपयुक्त लागेका एक जना सचिवलाई मुख्यसचिव नियुक्ति गर्न सक्नेछ।
यदि केही हप्ता वा महिना नै लाग्ने भएको अवस्थामा गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारीसमेत दिन सक्नेछ।


