काठमाडौँ- आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर भारतले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।
बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्। दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन्।
पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो। भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन्।
भारतले सन् २००७ को टी–२० विश्वकप फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो। सन् २०१४ को टी–२० विश्वकप फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले हारेको थियो। उता दक्षिण अफ्रिका कुनै पनि विश्वकपको पहिलो पटक फाइनल खेल्दैछ।
जारी विश्वकपमा दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन्। समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो। क्यानडासँग वर्षाको कारण १–१ अंक बाँडेको थियो। सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो।
उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराएको थियो। सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो।
दक्षिण अफ्रिकाको प्लेइङ ११
क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम (कप्तान), ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेविड मिलर, मार्को यानसन, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्किया र तबरेज शाम्सी,
बेन्च – ओटनिल बार्टमान, जेराल्ड कोट्जी, ब्जोर्न फोटुइन र रयान रिकेल्टन।
भारतको प्लेइङ ११
रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिबम दुबे, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, अर्शदीप सिंह र जस्प्रित बुमराह।
बेन्च – युजभेन्द्र चहल, सञ्जु स्यामसन, मोहम्मद शिराज र यशस्वी जैसवाल।


