ब्रिजटाउन- टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो।
भारतका लागि फर्ममा फर्किएका विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। यसअघिका खेलमा निराशाजनक प्रदर्शन गर्दै आइरहेका उनले आजको खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे।
खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन। कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए। लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए। सूर्यकुमार यादव पनि ३ रन जोडेर कागिसो राबाडाको शिकार बनेपछि भारत दबाबमा देखिएको थियो।
तर, कोहली र अक्षर पटेल मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फर्कियो। रन आउट हुन अघि पटेलले ३१ बलमा ४७ रन बनाए। उनले १ चौका र ४ छक्का हिर्काए।
शिवम दुवेले पनि २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले। उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे।


