काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको उपचार खर्च आफैँले व्यहोर्ने भएका छन्। भारतमा उपचार गर्दा आफन्तले समेत भत्ता लिएको भन्दै आलोचना सुरु भएपछि पौडेल स्वयंले उपचार खर्च व्यहोर्ने भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
‘उपचारका क्रममा भएको खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्रिवि शिक्षण अस्पतालमा उपचार गराउँदा समस्या समाधान नभएपछि थप उपचारका लागि गत ६ वैशाखमा भारतको नयाँ दिल्ली लगिएका राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेल भारतमा १२ दिनको उपचारपछि फर्किएका हुन्।
भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो। राष्ट्रपति पौडेललाई पेट दुख्ने, छातीमा पानी जम्नेलगायत समस्या देखिएका थिए।



