काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको सुकेधारास्थित यातायात व्यवस्था कार्यालय, बाग्मतीका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन उपसचिव भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार २०३८ साउन १ गते सेवा प्रवेश गरेका भट्टराईको २०७५ मङ्सिरसम्मको सम्पत्तिमाथि छानबिन गरिएको थियो। उपसचिव भट्टराईले १ करोड ९२ लाख बराबर आम्दानी गरेको भए पनि ३ करोड ७ लाख बराबरको व्यय देखिएको छ। आयबाट समग्र व्यय घटाउँदा १ करोड १५ लाख २९ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको आरोपपत्रमा उल्लेख छ।
आयोगले स्रोत नखुलेको सम्पत्तिलाई भ्रष्टाचार मान्दै सोही रकम बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। उपसचिव भट्टराईले हालकी पत्नी मुना अधिकारी, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा सम्पत्ति राखेको पाइएको छ।
आयोगले भट्टराईका मृतक पत्नी इन्दिरा भट्टराईलाई समेत प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। इन्दिराको मृत्यु भएपनि सम्पत्ति कायम रहेकाले जफतका लागि मात्र उनलाई प्रतिवादी कायम गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख गरिएको छ।


