काठमाडौँ- हजको लागि साउदी अरब गएका नेपाली यात्री ४२ दिन पछि नेपाल फर्किएका छन्। यो वर्षको हज यात्रा सहज रुपमा सम्पन्न गरी उनीहरू स्वदेश फर्किएका हुन्।
५ वटा उडानबाट हजयात्रीहरू नेपाल फर्किएको हज कमिटीका अध्यक्ष इसरा मुल्ला मियाँले जानकारी दिए।
‘यो वर्ष हजयात्रा कमिटीका सदस्य र दुई जना चिकित्सकसहित ७६४ जना हजको लागि साउदी अरब पुगेका थिए,’ अध्यक्ष मियाँले भने, ‘जुलाइ ३ सम्ममा उनीहरू सबै जना नेपाल फर्किएका छन्।’
हजयात्रीहरु गत जुन २९ देखि नेपाल फर्कन सुरु गरेका हुन्। जेठ पहिलो साता ५ उडानबाट हजयात्री साउदी अरब पुगेका थिए।
हजयात्राको लागि प्रतिव्यक्ति ४ लाख १५ हजार रुपैयाँ संकलन गरिएको थियो। कमिटीका सदस्य र चिकित्सकको लागि सरकारले टिकटको सुविधा प्रदान गरेको कमिटीका अध्यक्ष मियाँले जानकारी दिए।
२०२१ साल देखि नेपाल सरकार मार्फत हजयात्रामा जाने क्रम सुरु भएको हो। त्यसअघि भारतको मुम्बई हुँदै पानीजहाजबाट हजयात्री साउदी अरब पुग्ने गरेका थिए।
२०२० सालमा रौतहट जिल्ला भएको मुस्लिम अगुवाको भेलाले सरकारसँग हज समितिको माग गरेको थियो। तत्पश्चात हज कमिटि गठन गरी सरकारले नै हजयात्रीलाई पठाउने व्यवस्थापन गर्दै आएको छ।
इस्लाम धर्मका प्रमुख स्तम्भ इमान, नमाज, रोजा, जकात र हज हुन्। स्वस्थ र आर्थिक हिसाबले सक्षम इस्लाम धर्मावलम्बी जीवनमा कम्तीमा एकपटक हजका लागि जान चाहन्छन्।
हजको मुख्य विधि हिजरी पात्रोको १२औँ महिना जुलहिज्जाको ८ देखि १२ सम्म हो। यसबाहेक पनि हजयात्री महिना दिनसम्म मक्का र मदिनामा विभिन्न धार्मिक कर्ममा सहभागी हुन्छन्। जुलहिज्जाकै १० तारीखमा इस्लाम धर्मावलम्बीको अर्को ठूलो चाड बक्र ईद पर्छ।
हजयात्रामा जानेहरुले मक्का पुग्नुअघि नै सेतो रङको नसिलाइएको कपडा लगाउनुपर्छ। यो कपडा लगाएपछि हजको प्रक्रिया सुरु भएको मानिन्छ।
हजयात्रामा जाँदा पुरुषहरुले कपाल खौरिने र महिलाले कपालको केही अंश काट्ने गर्छन्।


