काठमाडौँ- युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्सबीच भिडन्त हुँदैछ। खेल नेपाली समय अनुसार राति १२ः४५ बजे म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुनेछ।
हेभिवेट मानिएका पूर्व विजेताद्वय स्पेन र फ्रान्सको खेललाई विशेष रुपमा हेरिएको छ। दुई पूर्वविजेता बीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।
क्वाटरफाइनलमा आयोजक जर्मनीलाई हराएर आएको स्पेनले उच्च मनोबलमा सेमिफाइनल खेल्दैछ। मिकेल मेरिनोले अतिरिक्त समयको पनि अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले जर्मनीलाई २–१ ले पराजित गरेको थियो।
उता फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।
दुई टोलीको तुलना गर्दा स्पेनले जारी युरोमा अहिलेसम्म ११ गोल गरिसकेको छ भने जम्मा दुई गोल मात्र बेहोरेको छ।
उता फ्रान्स गोल गर्न नै संघर्षरत छ। फ्रान्सले अहिलेसम्म गरेको दुई गोलमा एउटा पेनाल्टीबाट सम्भव भएको थियो भने अर्को आत्मघाती गोल उपहार पाएको थियो।
स्टार कप्तान केलिएन एमबाप्पे सुरुमै नाकको चोटबाट गुज्रिनु र अन्य खेलाडीहरुले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा फ्रान्स गोल गर्न फिक्का देखिएको छ।
उता स्पेनका मिडफिल्डर चोटका कारण युरोबाटै बाहिरिएपछि फ्रान्सविरुद्धको खेल गुमाउनेछन्।
स्पेन १२ वर्षपछि युरो फाइनलमा पुग्ने लक्ष्यमा छ भने फ्रान्स पछिल्लो ८ वर्षमा चौथो पटक मुख्य प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ। फ्रान्सले सन् २०१८ मा फिफा विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा युरो फाइनल र २०२२ मा विश्वकप फाइनल खेलेको थियो।
स्पेन र फ्रान्स मुख्य प्रतियोगितामा एकआपसमा प्रतिस्पर्धा गर्न लागेको यो छैटौंपटक हो। यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले जितेको छ। सन् १९८४ को युरो फाइनल, २००० को युरो क्वाटरफाइनल र २००६ को विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्सले स्पेनलाई पराजित गरेको थियो।
यस्तै स्पेनले एक खेल जितेको छ। स्पेनले सन् २०१२ को युरो क्वाटरफाइनलमा स्पेनले फ्रान्सलाई पराजित गरेको थियो। १९९६ को युरोको समूह चरणमा भने यी दुई टोलीले बराबरी खेलेका थिए।
स्पेन र फ्रान्स दुवै छैटौं पटक युरो सेमिफाइनल खेल्दैछन्।


