काठमाडौँ- साउन १ गतेदेखि लागू हुने गरी उपल्लो तहका निजामती कर्मचारीको तलव बढ्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपल्लो तहका निजामती कर्मचारीको तलव बढाउने प्रक्रिया सुरु गरेको हो।
मर्यादाक्रम एउटै रहे पनि सरकारी सेवाका कर्मचारीको तलवमान फरक-फरक रहेको भन्दै त्यसलाई समान कायम गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले समान कायम गर्न परमादेश दिएपछि मन्त्रालयले तलव समान बनाउने तयारी गरेको हो। यसो गर्दा कर्मचारीले खाइपाइ आएको तलव नघट्ने गरी व्यवस्था गर्न लागिएको मन्त्रालयको भनाइ छ। यसको लाभ निजामती सेवाका उपल्लो तहका कर्मचारीलाई हुने देखिएको छ।
साउन १ गतेदेखि नै तलव समायोजन गरी समान बनाउने तयारी गरिएको छ। सर्वोच्च अदालतले असार १० गते परमादेश आदेश जारी गर्दै समान मर्यादाक्रममा समान तलवमान कायम गर्ने परमादेश जारी गरेको थियो।
आदेश अनुसार निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुने छ।
‘कर्मचारीको मनोबल उच्च राख्न नसकेको तथा थप अनिश्चितता सिर्जना भएकाले आगामी आव २०८१/०८२ को सुरुबाट नै सुरु तलबमान आवश्यक समायोजन गरी विभेद र असमानता सम्बोधन हुनुपर्ने नै देखिन्छ,’ सर्वोच्चको आदेशमा उल्लेख छ।
अहिले समान मर्यादाक्रममा रहेका निजामती सेवाका सहसचिव तथा सोसरहका अन्य पदमा रहेका कर्मचारीभन्दा सुरक्षा निकायका अधिकारीको पारिश्रमिक बढी छ।
सहसचिव मर्यादाक्रमको १६ औँ स्थानमा छन्। सहसचिवको सुरु तलब ५६ हजार ७८७ छ। १६औँ स्थानमा सुरक्षाका निकायका कर्मचारी समावेश छैनन्। तर मर्यादाक्रममा १७औँ स्थानमा रहेका सहायक रथी, प्रहरी नायब उपरीक्षकलगायतको पारिश्रमिक ६० हजार ९५० छ। यी दुईबीचको अन्तर ४ हजार १६३ रुपैयाँ छ। सर्वोच्चको आदेशानुसार अब सहसचिवको पारिश्रमिक ६० हजार ९५० भन्दा केही न केही बढी नै हुन्छ।
यस्तै समान मर्यादाक्रममा रहेका निजामती सेवा उपसचिव वा सोसरहका कर्मचारी र प्रमुख सेनानी र प्रहरी उपरीक्षकको तलब फरक छ । उपसचिवको सुरु तलबमान ४८ हजार ७३७ छ । सुरक्षा निकायमा ५२ हजार २७९ रुपैयाँ छ ।
निजामती सेवाका शाखा अधिकृत वा सोसरहका अन्य कर्मचारीको सुरु तलबमान ४३ हजार ६८९ रुपैयाँ छ। मर्यादाक्रममा पछि रहेका उपसेनानीको तलब ४५ हजार १०३ रुपैयाँ छ।
सुरक्षा निकायतर्फ पनि प्रहरी निरीक्षकको तलबमान भने निजामतीसरह छ।


