काठमाडौँ- आज साउन महिनाको पहिलो दिन, विभिन्न कार्यक्रमका साथ साउने सङ्क्रान्ति पर्व मनाइँदै छ।
सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।
साउनदेखि नै सूर्य दक्षिणतिर सर्दै जाने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ।
आज असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन्।
हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ। परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ। लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, सङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ। यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ।
लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ।
साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ। महिलाहरूले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन्।
साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ।


