काठमाडौँ- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १० भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा कम्तिमा एक जनाको मृत्यु भएको छ। तीन जना घरभित्रै च्यापिएका छन्। घरभित्रै च्यापिएकाहरुको अवस्था थाहा हुन सकेको छैन।
गएराति गिजा खोलामा आएको बाढीको चपेटामा उनीहरु परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बखत शाहीले दिएको जानकारी अनुसार घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकको सनाखत भने भइसकेको छैन।
‘एक जनाको शव बाहिरै फेला परेको छ। अरु तीन जना घरले च्यापिएको अवस्थामा छन्। उनीहरुको अवस्था थाहा हुन सकेको छैन,’ प्रहरी निरीक्षक शाहीले भने।
उनका अनुसार बाढीपहिरोमा परी केही घाइते भएका छन्। घाइतेहरुलाई स्थानीयले राति नै उद्धार गरेर अस्पताल पठाएका थिए।
यसअघि असार ३२ गतेसम्म देशका विभिन्न स्थानमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपद्मा परी ११३ जनाको मृत्यु भएको छ।
बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २०, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठजनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीकानुसार उपत्यकामा आठ, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ गरी एक सय १९ जना घाइते भएका छन्।
अहिलेसम्म सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका प्रहरीले जनाएको छ। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ३० घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ।


