काठमाडौँ- आजबाट श्रीलङ्कामा एसिया कप महिला टी–२० क्रिकेट सुरु हुँदैछ। आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ।
श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले युएईको सामना गर्नेछ। यो खेल आज दिउँसो सवा २ बजे शुरु हुने तालिका छ। नेपालले ८ वर्षपछि एसिया कप महिला टी–२० खेल्न लागेको हो।
जुलाई २८ सम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन्। ८ टीमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित भारत, पाकिस्तान र यूएई छन्। समूह ‘बी’मा थाइल्यान्ड, मलेसिया, श्रीलङ्का र बङ्गलादेश छन्।
एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो। यसअघिका दुई संस्करण खेलिसकेको नेपाल अहिलेसम्म जीतविहीन छ। सन् २०१२ र २०१६ मा भएको एसिया कपमा नेपालले सहभागिता जनाएको थियो।
सन् २०१२ मा चीनमा भएको एसिया कपमा नेपाल श्रीलङ्का, बङ्गलादेश र आयोजक चीनसँग पराजित भएको थियो। सन् २०१६ मा पनि नेपालले जीत निकाल्न सकेन। थाइल्याण्डमा भएको प्रतियोगितामा नेपाल ५ वटै खेलमा पराजित हुँदै घर फर्किनुपर्यो। दुवै सहभागितामा नेपालको प्रदर्शन सम्झन लायक हुन सकेको थिएन।
सन् २०१६ मा नेपाल पाकिस्तानसँग ४७ र भारतसँग २१ रनमा अलआउट भएको थियो। तेस्रो पटक सहभागी हुन लागेको नेपालका ३ खेलाडीसँग एसिया कप खेलेको अनुभव छ। कप्तान इन्दु वर्मा, पूर्वकप्तान रुविना क्षेत्री र सीता रानामगरले यसअघिका दुई संस्करणको एसिया कप खेलेका छन्।


