काठमाडौं– इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले ब्राजिलका विंगर साभिन्होलाई अनुबन्ध गरेको छ। २० वर्षीय साभिन्होलाई सिटीले फ्रेञ्च क्लब ट्रोयसबाट ४० मिलियन यूरोमा अनुबन्ध गरेको हो। सिटीसँग साभिन्होले सन् २०२९ सम्मका लागि सम्झौता गरेका छन्।
साभिन्होले गत सिजन स्पेनिस टोली जिरोनाबाट खेलेका थिए। उनी जिरोनामा ट्रोयसबाट लोनमा आएका थिए। २०२२ मा ट्रोयसमा सामेल हुनुअघि उनले ब्राजिलियन क्लब एट्लेटिको मिनेरियोबाट खेलेका थिए। उनी २०२२-२३ सिजनमा नेदरल्यान्ड्सको पिएसभीमा लोनमा आबद्ध भएका थिए।
उनले जिरोनाका लागि कुल ११ गोल र १० असिस्ट गरेका थिए। जसका कारण उनी गत मार्चमा ब्राजिलको राष्ट्रिय टोलीमा परेका थिए। इङ्ल्यान्डविरुद्ध डेब्यू गरेपछि उनले कोपा अमेरिका २०२४ मा समूह चरणमा पाराग्वेविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।


