काठमाडौँ- काठमाडौं महानगरपालिका-२२ का वडाध्यक्ष चीनकाजी महर्जनले सडकमै टेबुलकुर्सी राखेर काम सुरु गरेका छन्।
महानगरपालिकाको न्युरोड फुटपाथ विस्तार निर्णय फिर्ता नभएसम्म आफ्नो वडा (२२)का बसै काम सडकबाटै सञ्चालन गर्ने उनको घोषणा छ।
वडाका सेवाग्राहीका लागि भन्दै उनले सडकमा पाल टाँगेर अस्थायी संरचना बनाएका छन्। न्युरोड धर्मपथ सडक खण्डको नेपाल बैंक जाने बाटोमा पाल टाँगिएको छ। त्यहाँ भित्र वडाध्यक्षले कुर्सीटेबल राखेर आफ्नो कार्यालय बनाएका छन्।
महानगरविरुद्ध फुटपाथ विस्तारको निर्णय फिर्ता गराउन दबाब दिने उद्देश्यले वडाको काम सडकमा ल्याएको बताए।
‘महानगरपालिकाको फुटपाथ विस्तार निर्णय फिर्ता नहुन्जेलसम्म २२ वडाका सम्पूर्ण कामकाज धर्मपथ सडक खण्डको नेपाल बैक जाने बाटोमा धर्नाको लागि बनाएको पालभित्रबाट संचालन गर्छौँ,’ उनले भने।
उनीसँगै कर्मचारीहरुले पनि सडकबाट काम थालेका छन् ।
महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा न्यूरोड क्षेत्रमा सडक साघुँरो बनाएर फुटपाथ विस्तार गरेको भन्दै वडाध्यक्ष महर्जनसहित स्थानीय विरोधमा उत्रिएका छन्।
बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएतापनि शुक्रबारदेखि भने स्थानीयले काममा अवरोध पुयाएका छन्।
महानगरले बिहान डोजर फिर्ता लगेको छ।


