काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं बुद्ध जयन्ती नेपाललगायत विश्वभर विशेष श्रद्धाका साथ मनाइँदै छ। आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका गौतमबुद्धको सम्झनामा पूजा, आराधना एवं प्रवचन गरी जन्मदिन मनाइने गरेको हो।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्छन्।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औं जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो। बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आममानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ। ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो। राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने। २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए।
बुद्ध जयन्ती अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाध्यक्ष, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै बुद्धका अर्तिउपदेश र शान्ति मार्ग पछ्याउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।


