काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दुमी राईले जानकारी दिए।
गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेंसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुंगीलगायत जंगली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याए जाडो छल्न बेंसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उनले सुनाए। यस पर्व अवसरमा चण्डी नाच नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।
किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन् । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ।
खोटाङको ऐंसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व २२ जेठपछि मनाउने तयारी गरेका छन्। ऐंसेलुखर्कका मानिसले प्रत्येक वर्ष २२ जेठपछि यो पर्व मनाउने परम्परा छ। किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन १ माघमै मनाउने गर्छन्। उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर १ साउनमा मनाउँछन्।
यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन्। यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो।


