काठमाडौँ- महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ। आज भएको फाइनलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंका विजेता बनेको हो।
टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेट क्षतिमा १६५ रनको बलियो स्कोर खडा गरेको थियो। भारतकी कप्तान स्मृती मन्धनाले ४७ बलमा ६० रन बनाइन्। श्रीलंकाले २ विकेट मात्रै गुमाएर लक्ष्य भेट्टायो।
श्रीलंकाले पहिलो विकेट ७ रनमै गुमाएको थियो। भिस्मी गुणरत्ने १ रनमै रनआउट भइन्। तर, कप्तान चामरी अथापट्थु र हर्षिता समराविक्रमाले ८७ रनको साझेदारी गर्दै श्रीलंकालाई जितको बाटोमा डोहोर्याएका थिए। चामरीले ४३ बलमा ६१ रन र हर्षिताले ५१ बलमा ६९ रनको योगदान दिए।
चौंथो नम्बरमा आएकी कभिसा दिलहरीले १६ बलमा ३० रन जोडेपछि भारत खेलमा फर्किन सकेन। श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य हासिल गरेको थियो।
श्रीलंकाले महिला एसिया कपको उपाधि पहिलोपटक जितेको हो। भारत आठौंपटक विजेता बन्न वञ्चित भएको छ।


