काठमाडौँ- बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाली कांग्रेस गोकर्णेश्वर नगर समिति वडा नं. ८ एकाई कार्य समितिले आज जोरपाटीस्थित बेशीगाउँमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो प्रतिबद्धता गरेका हुन्।
काठमाडौँ उपत्यकामा धेरै धार्मिक पर्यटक आउने र पुरातात्त्विक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्नुपर्ने उनको भनाइ छ।
पशुपतिनाथमा श्रीयन्त्रको पूजा, आराधना र गोकर्णेश्वरमा बालयन्त्रको पूजा, आराधना हुने भएकाले दुवै धार्मिक स्थलको उत्तिकै महत्त्व रहेको उनले बताए।
गोकर्णेश्वर महादेव मन्दिरका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पनि काम गर्ने मन्त्री ठकुरीको प्रतिबद्धता थियो।
सहकारी क्षेत्रमा आइपरेको समस्या समाधानका लागि पनि प्रदेश मन्त्रालयका तर्फबाट सक्दो सहयाग गरिने उनको भनाइ छ।
कार्यक्रममा प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले आफू गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख भएदेखि नै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक विकासका लागि काम गरेकाले यसलाई विश्वसम्पदामा सूचीकृत गर्न पहल गरिनुपर्नेमा जोड दिए।
केन्द्र, प्रदेश र स्थानीय तह मिलेर संस्थागत विकासमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो। सहकारी क्षेत्रमा आएको समस्याका कारण अर्थतन्त्र नै सङ्कटमा परेकाले समस्या समाधानमा प्रदेश सरकारले पनि पहल गर्नुपर्नेमा सभापति चालिसेले जोड दिए।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वर महादेव मन्दिरसँगै नगर क्षेत्रका सांस्कृतिक सम्पदाको विकासमा काम गरिरहेको बताए।
बागमती नदीको उद्गमस्थल वाग्द्वारबाट गोकर्णेश्वर महादेवमन्दिरसम्मको क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गरिनुपर्ने उनको भनाइ थियो।


