काठमाडौँ- काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा उपाधिका लागि बुधबार नेपाल र भारत भिड्दै छन्।
मंगलबार नेपालले इरानलाई र भारतले श्रीलङ्कालाई हराउँदै उपाधिका लागि आमने–सामने हुन लागेका हुन्।
नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन्।
इरानमाथि सोझो सेटमा जित निकालेपछि पत्रकार सम्मेलनमा कप्तान अरुणाले छिमेकी राष्ट्र भारतसँगै जस्तोसुकै अवस्थामा पनि नेपालले राम्रो खेल्दै आएको स्मरण गर्दै सोही मानसिकता र प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरेकी थिइन्।
कप्तान अरुणाले इरान जस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको बताएकी हुन्।
इरानलाई सुरुदेखि नै दबाबमा राखेर खेल्नुपर्छ भन्ने उद्देश्यसहित कोर्टमा उत्रनु नै जितको बलियो आधारमा रहेको बताइन्।
पछाडि परेको अवस्थामा पनि सोही मानसिकता साथ खेल्दा पुनरागमनसँगै जित सम्भव भएको उनको भनाइ छ।
अरुणाले इरानसँगको पहिलो खेलमा उनीहरू महत्त्वपूर्ण पक्ष बुझ्न नसकेको र सेमिफाइनलमा उनीहरूको बलियो पक्षलाई रोक्न सफल भएको बताइन्।
फाइनलमा अझै केही सुधार गर्दै उपाधि सुरक्षित गर्न बलियो रणनीतिका साथ खेल्ने कप्तान अरुणाको आशा छ।
नेपालका प्रशिक्षक जगदीश भट्टले इरानसँग सेमिफाइनल खेल्नुअघि आफ्ना खेलाडीको मानसिकता बलियो बनाएकाले सोझो सेटमा जित्ने लक्ष्य पूरा भएको बताएका छन्।
फाइनलमा पनि यहि रणनीति अवलम्बन गर्ने उनको भनाइ छ।
यस अघि साउन १९ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले भारतलाई ३-२ सेटमा पराजित गरेको हो।
पहिलो सेट २५-१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२-२५ अंकले गुमाउन पुगेको थियो। तेस्रो सेटमा २५-१७ अंकले जीत निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा १८-२५ ले गुमाउन पुग्यो। पाँचौं सेटमा १५-१३ ले जीत निकाल्दै नेपालले इतिहास बनाएको हो।


