काठमाडौँ- सहकारीबाट पीडित बनेका ६६ वर्षीय राजेन्द्र स्थापितको उपचार नपाएर मृत्यु भएको भन्दै सडकमा शवयात्रा गर्दै विरोध प्रदर्शन गरिएको छ।
शनिबार वीर अस्पतालमा स्थापितको मृत्यु भएको थियो। आफूहरूसँग भएको बचत युवा विकास बहुउद्देश्यीय सहकारीमा राखिएको तर उपचारका लागि लिन जाँदा नदिएका कारण आर्थिक अभावमा स्थापिको मृत्यु भएको पारिवारिक स्रोतको भनाइ छ।
न्यूरोडस्थित युवा विकास सहकारीमा स्थापितले एक करोड भन्दा बढी रकम जम्मा गरेका छन्। परिवारका अनुसार स्थापितको उपचारका लागि पछिल्लो पटक ५ लाख चाहिएको थियो। तर आफूहरूको रकम लगेको सहकारीले रकम नदिएर उल्टै धम्की दिएको आफन्तको आरोप छ।
स्थापितका सन्तान छैनन्। उनीहरूले बुढेसकालका लागि चाहिने भन्दै रकम बैंकमा राखेका थिए। तर बैंकले भन्दा बढी ब्याज दिने बुढेसकालका लागि थप व्यवस्था पनि गरिदिने प्रलोभन दिलाएर बैंकको रकम सहकारीमा सार्न लगाएर ठगी गरिएको आफन्तको दाबी छ।
सहकारीले रकम नदिँदा उपचार नपाएको भन्दै पीडित र आफन्तहरूले सडकमा शवयात्रा गरेर विरोध प्रदर्शन गरेका हुन्।


