ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिकस्थल हो। १२ हजार फिट उचाइमा रहेको मन्दिर पुग्न सदरमुकाम फुङलिङबाट २० किमी जानुपर्छ। ३ हजार ७९४ मिटर उचाइमा अवस्थित मन्दिर सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्छ।
मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ। अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा)देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ।
ताप्लेजुङका रैथाने लिम्बू समुदाय पाथीभरालाई ‘मुक्तुबुङ’ भनेर चिन्दछन्। स्थानीय लिम्बू भाषामा ‘मुक्तु’को अर्थ शक्ति वा बल र ‘बुङ’को अर्थ बोट भन्ने हुन्छ। पाथीभरालाई शक्ति वा बलको बोट (केन्द्र)को रूपमा पूजा गरिँदै आएको छ।
फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिँडेपछि पाथीभरादेवीको मन्दिर रहेको डाडाँमा पुग्न सकिन्छ। कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमशृंखला अवलोकन गर्न सकिन्छ।
काठमाडौँको कोटेश्वर र नयाँ बसपार्कबाट बसमा करिब २४ घण्टाको यात्रा तय गरेपछि पुगिन्छ ताप्लेजुङ सदरमुकाम। ताप्लेजुङ पुगे लगतै त्यहाँबाट बुलेरोमा सुकेटार हुँदै १ घण्टा ३० मिनेटमा सानोफेदी पुग्न सकिन्छ। सडक स्तरोन्नतिकै अवस्थामा रहेका कारण केही जोखिम भने रहेको छ।
सानोफेदीसम्म मात्र सडक पुगेकोले त्यहाँबाट भने करिब ५ किलोमिटर उकालोको यात्रा गरी पाथीभरा मन्दिर पुग्न सकिन्छ। बीचमा बास बस्नका लागि भने पर्याप्त होटल तथा लज सुविधा छ। केही समयअघिसम्म पूर्वी क्षेत्रमा धार्मिक यात्रामा जानेहरु मात्र पुग्ने पाथिभरामा अहिले देशविदेशका विभिन्न क्षेत्रबाट पर्यटक पुग्ने गरेका छन्।












