२०८३ कार्तिक ११ गते मङ्गलबार

शत्रुतापूर्ण थियो बेलायतको नेपाल साइनो

 |  दिलीप प्रकाश कार्की
Sanket

दिलीप प्रकाश कार्की

काठमाडौँ, बैशाख २३
Anglo_Nepal_War
नेपाल-बेलायत युद्धको काल्पनिक चित्र। इन्सेटमा बेलायती राजा चार्ल्स तृतीय (माथिल्लो तस्बिर) र उनको समारोहमा सहभागी हुन गएका परराष्ट्रमन्त्री एनपी साउद (तल्लो तस्बिर)।

बेलायतले मे ६ (आज)देखि तीन दिनसम्म विशिष्ट समारोह आयोजना गर्दैछ। लन्डनस्थित वेस्टमिनिस्टर गिर्जाघरमा बेलायतले ७० वर्षपछि राजमुकुट पहिराइदिँदैछ। राजा चार्ल्स तृतीयको यो राज्याभिषेक समारोहमा विश्‍वभरबाट २००० भन्दा बढी विशिष्ट पाहुना बोलाइएको छ। एलिजावेथ द्वितीयलाई राजमुकुट पहिराएको ७० वर्षपछि त्यस्तै किसिमको समारोह हुन लागेको हो। महारानी एलिजावेथले राजमुकुट पहिरिएका बेला नेपालको राजमुकुट राजा त्रिभुवनको शीरमा थियो, तर चार्ल्स तृतीयले राजमुकुट पहिरने बेला नेपालमा राजतन्त्र ढलिसकेको छ।

बेलायती महाराजा/महारानीलाई राजमुकुट पहिराइदिने समारोह विशेष हुने गरेको छ। नेपालबाट राष्ट्रपतिको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लन्डन पुगिसकेका छन्। शत्रुताबाट सुरु भएको नेपालसँग बेलायतको सम्बन्ध मित्रतामा परिणत भएको २०७ वर्ष पूरा भएको छ।

अठारौँ शताब्दीको मध्यतिर सानो, पछौटे हिमाली राज्य नेपालको विश्वका अधिकांश स्थानमा साम्राज्य फैलाएको बेलायतसँग शत्रुतापूर्ण सम्बन्ध बन्न पुग्यो। सन् १७६७ मा क्याप्टेन जर्ज किनलकको नेतृत्वमा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिस-भारतको फौजसँग पृथ्वीनारायण शाहका सेनाको युद्ध भएको थियो। युद्धमा शाहको सेनाले सफलता हात पारेको थियो। ब्रिटिस-भारतीयको फौजका थुप्रै सैनिकको हताहतीमा भएको थियो।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिरहँदा सम्पूर्ण भारतीय उपमहाद्वीपमा औपनिवेशिक शासन गरिरहेको बेलायतले नेपाललाई पनि उपनिवेश बनाएर निर्बाध तिब्बत र चीनको पश्चिमी भूभागसँग व्यापार गर्ने रणनीति बनाएको थियो। फलस्वरूप सन् १८१४ मा नेपाल र बेलायतबीच (एङ्लो-नेपाल)  युद्ध भयो। करीब दुई वर्षसम्म चलेको उक्त युद्धमा नेपाल पराजित भयो। सन् १८१६ मा सुगौली सन्धी गर्न बाध्य भयो। यसपछि नेपाल र बेलायतबीच भौतिक रूपमा द्वन्द्व भएन। बरु नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भयो। परराष्ट्र मन्त्रालयको अनुसार नेपालको इतिहासमा पहिलो पटक दौत्य सम्बन्ध गाँसिएको मुलुक बेलायत नै हो।

पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीहरूले बेलायतलाई सघाए। बेलायती सेनामा सामेल भएर नेपालीले बेलायतलाई सघाएका थिए। अझसम्म पनि बेलायती सेनामा नेपालीहरू कार्यरत छन्। नेपालको जनसंख्या ४० लाख पनि नहुँदाकै अवस्थामा दुई लाखभन्दा धेरै नेपालीले दुई वटा विश्वयुद्धमा बेलायती सेनाका तर्फबाट लडेका थिए। पहिलो विश्वयुद्धमा ग्यालीपोलीको लडाइँ र फ्लान्डर्स फिल्ड, दोस्रो विश्वयुद्धमा इटाली, बर्मा र मलायासम्म पुगेर ४० हजारभन्दा धेरै बेलायतका तर्फबाट लडेका नेपालीले ज्यान गुमाएका थिए।

सन् १८१६ मा भएको सन्धिको प्रावधान अनुसार बेलायतले काठमाडौंमा आफ्नो एक प्रतिनिधि राख्ने सुविधा पायो। सन् १८१६ मै एडवार्ड गार्डनर बेलायतको पहिलो प्रतिनिधिका रूपमा काठमाडौँ आएर काम गर्न थालेका थिए। नेपाल र बेलायतबीच सन् १९२३ मा भएको सन्धिले पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय स्थितिमा एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो भनी परिभाषित गरेको थियो।

सन् १९३४ मेमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालले सोही वर्ष लण्डनमा आफ्नो कूटनीतिक नियोगको कार्यालय स्थापना गरेको थियो। भारत स्वतन्त्र भएकै वर्ष सन् १९४७ मा बेलायतका नेपाल प्रतिनिधिलाई सम्पूर्ण अधिकारसहितको राजदूतसरहको बनाइएको थियो।

सन् १९५१ मा नेपालमा राणा शासनको अन्त्य भयो। प्रजातन्त्र स्थापना भएको घोषणा गरियो। नेपालमा प्रजातन्त्र स्थापना भएपछि २ जुन १९५३ मा बेलायती महारानी एलिजावेथ द्वितियाले राज्याभिषेक गरेकी थिइन्।

महारानी एलिजावेथको राज्यभिषेकमा सगरमाथामाथिको विजयको उपहार
गत सेप्टेम्बरमा निधन भएकी बेलायती महारानी एलिजावेथको नेपालको राजपरिवारसँग विशेष सम्बन्ध थियो। नेपालमा तत्कालीन राजा महेन्द्रले संसद् भंग गरेर सत्ताको बागडोर आफ्नो हातमा लिएको एक वर्षपछि सन् १९६१ फेब्रअरी २६ देखि २८ सम्म बेलायती महारानीको पहिलो राजकीय भ्रमण भएको थियो। त्यसअघि सन् १९६० अक्टोबर १७ देखि २० तारिससम्म महेन्द्रले बेलायतको राजकीय भ्रमण गरेका थिए। दोस्रोपटक सन् १९८६ मा पुनः अस्ट्रेलिया र न्यूजिल्यान्ड जाने क्रममा महारानी एलिजावेथ चारदिने भ्रमणमा नेपाल आएकी थिइन्।

प्रधानमन्त्री जंगबहादुर राणाले सन् १८५० मा बेलायत भ्रमण गरेपछि नेपाल-बेलायतबीच उच्चस्तरीय भ्रमण हुँदै आएको छ। सन् १९८० र १९९५ मा राजा वीरेन्द्रले र सन् २००३ मा राजा ज्ञानेन्द्रले बेलायतको राजकीय भ्रमण गरेका थिए।

२ जुन १९५३ मा महारानीले एलिजावेथ द्वितीयाको राज्याभिषेकमा नेपालका तर्फबाट राजकुमार हिमालयप्रताप वीरविक्रम शाह र प्रिन्सेप शाह सहभागी भएका थिए। राजा त्रिभुवनलाई सहभागिताका लागि निमन्त्रणा भए पनि नेपालमा भर्खरै स्थापना भएको प्रजातन्त्र जोगाउन सकस परिरहेको समयमा राजा त्रिभुवन छोरा-बुहारीलाई सहभागिताका लागि पठाएका थिए।

इतिहासको कुनै कालखण्डमा बेलायती औपनिवेशिक शासन नेपालको सहयोगमा टिकेको थियो र त्यसको आयुसमेत लम्बिएको थियो। द्विपक्षीय सम्बन्ध अझै फराकिलो बन्दै गएको छ। त्यति पुरानो सम्बन्ध भएर पनि आजसम्म कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपालको भ्रमण नगर्नु भने विडम्बना भएको अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुले टिप्पणी गर्ने गरेका छन्।

बेलायती महारानीको राज्याभिषेकलाई विशेष उपहार दिनका लागि विश्‍वको सर्वोच्च शिखर सगरमाथा आरोहणको योजना बनाइएको थियो। बेलायत सरकारको आर्थिक सहायतामा ‘बेलायती एभरेस्ट अभियान’ अन्तर्गत ‘एभरेस्टमाथि विजय’को खबर विश्‍वलाई सुनाउनु नै महारानी एलिजावेथका लागि उपहार हुने बताइएको थियो। २९ मे १९५३ मा न्यूजिल्यान्डका नागरिक एडमन्ड हिलारी र नेपालका शेर्पा तेनजिङ नोर्गेको सगरमाथामाथिको जितको जानकारी विश्‍वलाई महारानी एलिजावेथको राज्यभिषेकको अवसर पारेर २ जुन १९५३ मा दिइएको थियो। यति ठूलो समाचार पाँच दिन विश्वमा लुकाइएको थियो ताकि बेलायतमा महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकका दिन बिहान यसको घोषणा गरियोस्।

प्रथम सगरमाथा आरोही एडमन्ड हिलारी (बादाँ) र तेन्जिङ नोर्गे शेर्पा। उनीहरूले सन् १९५३ मे २९ मा सगरमाथा आरोहण गरेका थिए।

‘द टाइम्स’ म्यागजिनमा जेम्स मोरिसले उक्त समाचार दिएका थिए। यस अभियानबारे ‘कोरोनेसन एभरेस्ट’ नामक पुस्तकमा जेम्सले लेखेका छन्, ‘सांकेतिक शब्द या कोडको प्रयोगको माध्यमबाट तयार हाम्रो त्यस ‘स्कूप’ले रानीको राज्याभिषेकको आनन्दलाई दुई गुणा बढाइदिएको थियो।’

अझ महत्वपूर्ण विषय बेलायती सेनामा गोर्खा भर्तीले पनि दुई मुलुकबीचको सम्बन्धलाई थप विशेष बनाएको छ। सन् सन् १९६१ मा बेलायतबाट सुरु भएको नेपालमा आर्थिक सहयोगको सुरुवात भएको थियो। डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलेपमेन्ट(डीएफआईडी) मार्फत विभिन्‍न क्षेत्रका गतिविधिहरूमा विकासमा सहयोग गर्दै आएको छ। बेलायत नेपालको प्रमुख विकास साझेदारसमेत हो। सन् १९९९ मा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिफिड)को कार्यालय काठमाडौंमा स्थापना गरेको थियो।

७ दशकपछिको राज्यभिषेक
सात दशकअघि महारानी एलिजावेथको राज्यभिषेकमा नेपाल जहानीयाँ राणाको अन्त्य गर्दै राजासहितको प्रजातन्त्रको अभ्यासको सुरुवात गरिरहेको थियो। महारानी एलिजावेथको नेपाल भ्रमणका हुँदा मुलुकमा पञ्‍चायतकालीन व्यवस्था थियो। यस सात दशकको अवधिमा नेपालले तीन व्यवस्था फेर्‍यो।

महारानी एलिजावेथ द्वितीयको राज्याभिषेक २ जुन १९५३ मा। तस्बिर : बेटामन अर्काइभ/गेट्टी इमेजेज

महारानी एलिजावेथको राज्यभिषेकमा राज परिवारका सदस्य सहभागी भएका थिए भने राजा चार्ल्सको राज्यभिषेकमा गणतान्त्रिक नेपालका परराष्ट्रमन्त्री साउद सहभागी भएका छन्। राजा चार्ल्स राजकुमार हुँदा दुई पटक नेपाल भ्रमण गरेका छन्। राजकुमार चार्ल्स, जो अब राजा चार्ल्स तेस्रोका रूपमा राज्याभिषेक गर्दैछन् उनले पनि सन् १९७७ देखि रोयल गोर्खा राइफल्सको चिफ कर्नेलको पदधारण गरेका थिए। उनले रोयल गोरखा राइफल्सको चिफ भएपछि सन् १९९३ मा १९९८ मा दुई पटक नेपाल भ्रमण गरेका थिए।

गोर्खा राइफल्सका चिफ कर्नेलको रुपमा रहेका चार्ल्स नै राजा बनेपछि बेलायतमा गोर्खाहरुले भोग्दै आएको विभेद अन्त्य गर्न भूमिका खेल्‍ने विश्वास व्यक्त भइरहेका छन्। गोर्खाहरू विगत २०६ वर्षदेखि बेलायती राष्ट्रिय सेनाको अभिन्न अंगको रूपमा सेवारत छन्। यद्यपि गोर्खाहरूलाई बेलायतले आजसम्म पनि गम्भीर र अमानवीय भेदभाव गर्दै आएको छ। यस्तो भेदभाव अन्त्य गर्न गोर्खा सत्याग्रहले विगत आठ वर्षदेखि अविराम संघर्ष गर्दै आएको छ।

अहिले बेलायतमा करिब १ लाख ५० हजार नेपाली बसोबास गर्छन्। तीमध्ये धेरैजसो गोर्खा भूपू सैनिकका परिवार हुन्। महारानी एलिजावेथ द्वितीयको निधन हुनुपूर्व बकिङहम प्यालेसमा ‘९४ स्क्वाड्रोन, द क्विन्स वन गोर्खा लजिस्टिक्स रेजिमेन्ट’ का सैनिकहरुको परीक्षण गरिएको थियो। उक्त परिक्षणमा गोर्खा सैनिकहरु शाही ड्युटीहरुमा खटिनका लागि योग्य सैनिकको रुपमा उत्तीर्ण भएका थिए।

‘गोर्खा सैनिकहरुले प्रभावशाली र बहुआयामिक क्षमता प्रदर्शन गर्दै राजपरिवारका सदस्यहरुको लागि आवश्यक उच्च स्तरको सेवाका निम्ति आफूलाई प्रमाणित गरेका हुन्। यसअघि पनि बेलायती महारानी र राजपरिवारको सुरक्षामा गोर्खा सैनिकहरुले अवसर पाउँदै आएका थिए। गत सेप्टेम्बरमा सम्पन्न स्वर्गीय महारानी एलिजावेथ द्वितीयको राजकीय अन्त्येष्टिमा पनि गोर्खाहरु अग्रपंक्तिमा खटिएका थिए।

वेस्टमिनिस्टर एबीमा सन् १०६६ देखि राज्याभिषेक समारोह हुँदै आएको छ। गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेक समारोहमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलाले पनि रानी मेरीको मुकुट लगाउने छन्। राजा जर्ज पाँचौँसँगै रानी मेरीले उक्त मुकुट सन् १९११ मा पहिरिएकी थिइन्।

राजा चार्ल्सको राज्यभिषेक समारोह तीन दिनसम्म चल्‍नेछ। मे ६ मा वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोह, राज्याभिषेक बग्गी लस्कर यात्रा, बकिङ्हम राजदरबारको बाल्कनीमा राजपरिवारको उपस्थिति र जनतालाई अभिवादन गर्ने कार्यक्रम छ भने मे ७ मा विन्डसर क्यासलमा साङ्गीतिक कार्यक्रम र आतीशबाजी प्रदर्शन; राज्याभिषेकको खुसीयालीमा सडक पार्टी र परिकार महोत्सव हुनेछन्। त्यसैगरी मे ८ मा स्थानीय परोपकारी गतिविधिहरूमा योगदान दिन मानिसहरूलाई प्रेरित गर्न बिग हेल्पआउट नामको ठूलो प्रवर्द्धन कार्यक्रम गरिनेछन्।

प्रकाशित: २०८० बैशाख २३ गते शनिवार ०४:२१
Sanket

दिलीप प्रकाश कार्की

आमसञ्चार तथा पत्रकारिताका अध्येता कार्की राजनीतिक तथा कूटनीतिक मामिलामा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना