काठमाडौँ– बलिउड अभिनेता अरशद वारसीले हालै अभिनेता प्रभासमाथि टिप्पणी गरेका छन्।
उनले फिल्म ‘कल्की’मा प्रभासको अभिनयमाथि टिप्पणी गरेका हुन्। उनले प्रभासको अभिनयलाई जोकरको संज्ञा दिए। अरशदको यो टिप्पणी चित्त नबुझेपछि फिल्ममेकर अजय भूपतिले आक्रोश पोखेका छन्।
उनले आफ्नो एक्स पोस्टमा लेखेका छन्, ‘ प्रभास त्यस्तो व्यक्ति हुन् जसले भारतीय सिनेमालाई अन्तर्राष्ट्रिय दर्शकमाझ लैजान सबैकुरा दिएका छन्। उनी हाम्रो देशको गौरव हुन्। हामी त्यो फिल्ममा तपाईंको आँखामा जलन देख्न सक्छौं, तपाईंलाई फिक्का लागेको छ। किनकि तपाइँलाई कसैले ध्यान दिँदैन।’
उनले थपे, ‘आफ्नो विचार व्यक्त गर्ने एउटा सीमा र तरिका हुन्छ।’
अरशदले ‘अनफिल्टर्ड विथ समधिश’को पोडकास्टमा ‘कल्की’ फिल्मको बारेमा राय दिने क्रममा अमिताभ बच्चनको तारिफ गरेका थिए। तर प्रभासको अभिनयमा प्रश्न उठाउँदै भने, ‘ प्रभास, म साँच्चै दुखी छु, उनी किन जोकर जस्तो भए? किन?’
‘कल्की’मा प्रभास-अमिताभसँगै दीपिका पादुकोण, कमल हासन र दिशा पटानी पनि थिए। नाग अश्विनको निर्देशनमा बनेको यो फिल्मको कथा महाभारतबाट लिइएको हो। फिल्मलाई दर्शकले निकै रुचाएका थिए।



