काठमाडौं– आज विविध कार्यक्रमसहित ‘आठौं राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदै छ। नेपालमा गोरखापत्र प्रकाशन भएको २४ वैशाखको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो।
सरकारले २०७३ मा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो। २४ वैशाख १९५८ देखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो।
‘पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। यसै अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ । सञ्चार मन्त्रालयको आयोजनामा आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विशेष कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रममा नेपाली पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुुई जनालाई वरिष्ठ पत्रकार सम्मान र ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ। पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो।
समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चारमन्त्री रेखा शर्माले सम्बोधन गर्नेछन्। गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२३औं वर्ष प्रवेश तथा संस्थानको ६१औं वार्षिकोत्सव अवसरमा प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रम आयोजना गर्दै छ।


