काठमाडौ – सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि राजेश मगर र निश्मा श्रेष्ठनले जितेका छन्। सोलुखुम्बुको रत्नाङ्गेमा भएको प्रतियोगितामा पुरुषतर्फको इलिटमा राजेशले आठ ओटा स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए। यसै विधामा क्रिस्टोफर किलिङ्स दोस्रो हुँदा तेन्गि रोबर्ष तेस्रो भए।
पहिलो स्थान हाँसिल गरेका राजेशले ३० हजार प्राप्त गरे। त्यस्तै दोस्रो स्थान हासिल गरेका क्रिस्टोफरले २० हजार पाउँदा तेस्रो हुने तेन्गिले १० हजार पाए।
महिलातर्फ निश्मा पहिलो हुँदा लक्ष्मि मगरले दोस्रो स्थान हात पारिन्। त्यस्तै उषा खनाल तेस्रो भइन्। निश्माले ३० हजार प्राप्त गरिन्। दोस्रो स्थान हासिल गरेकी मगरले २० हजार पाउँदा तेस्रो हुने उषाले १० हजार घर लगिन्। पुरुषतर्फको मास्टर्ष विधामा दिनेश महर्जन पहिलो भए भने मनोज क्षेष्ठ दोस्रो र विनेश तुलाधर तेस्रो भए।
जुनियरतर्फको विधामा छिरिङ पासाङ शेर्पा पहिलो हुँदा दुर्बेश विक्रम शाह दोस्रो भए। यो विधामा दुई मात्र खेलाडीले सहभागिता जनाएका थिए। फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको हो।
चार विधामा २६ राइडर सहभागी प्रतियोगितामा दुई विदेशी राइडरले पनि प्रतिस्पर्धा गरेका थिए। हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र पर्यटन पर्वद्धनमा सहयोग पुगाउन प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए।


