अमेरिकी बहुर्राष्ट्रिय प्रविधि कम्पनी एप्पलले सेप्टेम्बर ९ मा १६औँ सिरिजको आइफोन लन्च गरेको छ। यो सिरिजका फोनमा धेरै नयाँ फिचर थप गरिएको कम्पनीको भनाइ छ।
एप्पलको नयाँ १६ सिरिजमा आइफोन-१६, आइफोन-१६ प्लस, आइफोन-१६ प्रो र आइफोन-१६ प्रो म्याक्समा चार भेरियन्टका मोबाइल लन्च गरिएका छन्।
एप्पलले मोबाइल, ल्यापटप, स्मार्ट घडी र अन्य ग्याजेटहरू बजारमा उपलब्ध गराउँदै आएको छ।
विश्वभरका बजारमा आइफोनको माग बढेको बढ्यै छ।
इन्टरनेटको बढ्दो माग र खपतसँगै स्मार्टफोनको क्रेज बढेको छ। योसँगै आईफोनको माग पनि लगातार बढिरहेको छ।
पहिलो आईफोन कसरी बनाइयो?
सन् १९७६ मा स्टिभ जब्स र उनका व्यापारिक साझेदार स्टिभ वोज्नियाक र रोनाल्ड वेनले मिलेर एप्पल कम्पनीको स्थापना गरेका थिए।
सन् १९८० मा एप्पल सेयर बजारमा प्रवेश गरेको थियो। त्यसबेला यो कम्पनीको बजार मूल्य १ अर्ब ८० करोड अमेरिकी डलर थियो।
सोही वर्षको नोभेम्बर महिनामा स्टिभ जब्स र स्टिभ वोज्निआककले एप्पलको ओर्जिनल कम्प्युटर ४ लाख डलरमा बोलकबोलमार्फत बिक्री गरेका थिए।
आइपडका ‘पिता’ भनेर चिनिने टोनी फडेलले बीबीसीसँग पहिलो पटक आईफोन निर्माणको कहानी बताएका छन्।
आइपडलाई नै राम्रो बनाउने सोचका साथ पहिलोपटक आईफोन बनाइएको थियो।
एक पटक टोनी फडेल हवाई यात्रा गर्दै थिए। विमानबाट ओर्लेर खल्तीमा छाम्दा उनी आश्चर्यमा परे। किनभने आईफोनको प्रोटोटाइप नै हरासकेको थियो।
आईफोनको प्रोटोटाइप नै हराएपछि स्टिभ जब्सलाई के जवाफ दिने होला भनेर टोनी फडेल सोचमग्न बने। तर आईफोन यति धेरै लोकप्रिय होला भन्ने चाहिँ उनलाई लागेको थिएन।
केही बेर खोजेपछि फेडेलको खल्तीबाट हराएको आईफोनको प्रोटोटाइप विमानको दुई सिटको बीचमा भेटियो। उक्त प्रोटोटाइप टोनी बसेको सिटकै छेउमा खसेको थियो।
यो त्यो बेलाको कुरा हो, जुन समय माइक्रोसफ्टलगायतका कम्पनीहरू फोनमा नै कसरी कम्प्युटरका प्रोग्राहरू राख्न सकिन्छ भनेर सक्दो प्रयास गरिरहेका थिए।
त्यही हराएर भेटिएको प्रोटोटाइपमा एप्पलले आइपडमा सेवा/प्रविधि थप गरेर फोनको आकार दिने प्रयास गरिरहेको थियो।
त्यतिबेला एप्पलले म्याकिन्टोस कम्प्युटरमा काम गरिरहेको थियो। त्यतिबेला यो कम्प्युटरको साइज पिङपङ् (टेबलटेनिस) टेबल जत्रै थियो।
स्टिभले टोनीलाई त्यति ठूलो टचस्क्रिन आइपडमै अटाउन चाहेको बताएका थिए। तर यो काम त्यति सजिलो थिएन। यसका लागि सयौं दक्ष जनशक्तिको आवश्यकता थियो।
टोनी भन्छन्- अन्ततः हामी यो गर्न सफल भयौं।
एप्पल कम्पनीमा एकसे एक दक्ष जनशक्ति त थिए। तर त्यति ठूलो स्क्रिनलाई सानो आइपडमा नै अटाउन सक्ने प्रविधि र जनशक्ति भने उनीहरूसँग थिएन। त्यसैले टोनीले संसारका उत्कृष्ट विशेषज्ञहरूलाई भेट्ने विचार गरिरहेका थिए।
यतिकैमा टोनीले व्यापारिक कामकै सिलसिलामा स्विडेन गए। त्यहाँको एक रेस्टुरेन्टमा पुगेका उनले अर्को टोलीसँग डिनरका लागि अर्कै स्थानमा जानुपर्ने भयो। उनी गएर फर्किए। तर आउँदा सबै सामान गायब भइसकेका थिए।
‘मलाई थाहा थियो यो कुनै प्रतिस्पर्धी कम्पनीले गरेको थियो,’ टोनी भन्छन्।
सामान हराए पनि ठूलो टचस्क्रिनलाई सानो बनाउने प्रयास भने रोकिने कुरा थिएन।
आईपडलाई फोनको रूप दिएर किबोर्ड राख्न सकिन्छ कि सकिन्न भन्ने बहस पनि एप्पलको टोलीमा सुरु भएको थियो। यो विषयले एप्पलको टिमभित्र निकै तनावको स्थिति पनि सिर्जना गरेको थियो।
स्टिभ जब्स आईफोनमा टचस्क्रिन भएको राख्नैपर्ने अडानमा थिए। तर टोलीका बाँकी सदस्यहरू भने स्टिभको विरुद्धमा थिए। यो विवाद यतिसम्म उत्कर्षमा पुग्यो कि निराश भएर एक दिन स्टिभले टोलीका साथीहरूलाई भनेका थिए- ‘जो टचस्क्रिनको विरुद्धमा छन् उनीहरूले यो टिम छोड्नुपर्छ।’
त्यो फोनलाई कस्तो रूप दिने भन्नेमा पनि टोलीमा मतमतान्तर थिए। यद्यपि टोलीले स्टिभलाई थाहै नदिई कतिपय कामहरू गरिरहेको थियो। कतिपय कुरा स्टिभले थाहै नपाई आईफोनको पहिलो स्टाइलमा काम भएको थियो।
सन् २००७ मा सान फ्रान्सिस्कोमा भएको म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टिभ जब्सले पहिलो आईफोन लन्च गरे। त्यसबेला उनलाई मजाक बनाइएको थियो। खिल्ली उडाइएको थियो।
तर, अहिले यो कम्पनी विश्वकै धनी कम्पनीमध्येको एक बनेको छ। आईफोन प्रयोगकर्ताको संख्या लगातार बढिरहेको छ।
एप्पलको पहिलो आईफोनमा टचस्क्रिन, वाइडस्क्रिन आइपड, मोबाइल फोन र इन्टरनेट ब्राउजर जस्ता सुविधाहरू थिए।
लन्चिङ कार्यक्रममा स्टिभ जब्सले भनेको कुरा सीएनएनमा उल्लेख छ। उनले थिए, ‘म विगत साढे दुई वर्षदेखि यो दिनको प्रतीक्षामा थिएँ।’
पहिलो आईफोनको मूल्य ३९९ अमेरिकी डलर राखिएको थियो।
यो आईफोनमा १६ जीबी मेमोरी, ३.५ इन्चको टचस्क्रिन र २ मेगापिक्सेल क्यामेराजस्ता विशेषता थिए।
कहाँबाट आयो स्टिभलाई आइफोन बनाउने आइडिया?
सन् २०१० को डी-८ सम्मेलनका बेला स्टिभले दिएको एक अन्तर्वार्तामा उनले नयाँ ट्याब्लेट बनाउने योजनामा काम गरिरहेको बताएका थिए।
किबोर्डबाट कसरी छुटकारा पाउन सकिन्छ र कसरी मल्टिटच ग्लास डिस्प्लेमा टाइप गर्न सकिन्छ भनेर आफूले काम गरिरहेको पनि उनले बताएका थिए।
यो विषयमा उनले आफ्नो टोलीसँग कुरा गरे। ‘के हामी मल्टिटच डिस्प्ले बनाउन सक्छौं? जसकारण टाइपिङ गर्नबाट हातलाई मुक्ति दिन सक्छौं?’- टोलीमा स्टिभको प्रश्न थियो।
‘लगभग ६ महिनापछि टोलीले मलाई कल गर्यो। र टोलीले मलाई मल्टिटच डिस्प्लेको प्रोटोटाइप डिस्प्ले देखाए,’ स्टिभले भनेका छन्।
स्टिभ यतिमै रोकिएनन्। ‘मैले उक्त प्रोटोटाइप युआई साथीलाई दिएँ। उनले मलाई केही हप्तापछि कल गरे। मैले उसलाई रबर ब्यान्ड र केही अन्य चीजहरू मार्फत स्क्रोल गरेको देख्दा मलाई लाग्यो कि हामीले ट्याब्लेटको सट्टा फोन बनाउन सक्छौँ,’ उनले थपेका छन्, ‘यसपछि मैले ट्याब्लेट प्रोजेक्टलाई अलग्गै राखें। किनभने फोन बढी महत्त्वपूर्ण थियो। त्यसपछि हामीले अर्को केही वर्ष आईफोनमा समर्पित गर्यौं। अब अरु योजनामा काम गर्न सकिन्छ भन्ने महसुस भएपछि ट्याब्लेट आयोजनाको काम फेरि सुरु भयो।’
हालसम्म रिलिज भएका आईफोन
एप्पलले अहिलेसम्म जम्मा २५ प्रकारका आईफोन मोडल (सिरिज) लन्च गरिसकेको छ।
२००७ -पहिलो आईफोन
२००८- आईफोन ३जी
२००९- आईफोन ३जीएस
२०१०- आईफोन४
२०११- आईफोन ४एस
२०१२- आईफोन ५
२०१३- आईफोन ५एस
२०१३- आईफोन ५सी
२०१४- आईफोन ६ र आईफोन ६प्लस
२०१५- आईफोन ६एस र ६एस प्लस
२०१६-आईफोन एसई
२०१६- आईफोन ७ र आईफोन७ प्लस
२०१७- आईफोन ८ र ८ प्लस
२०१७- आईफोन एक्स
२०१८- आईफोन एक्सएस र आईफोन एक्सएस म्याक्स
२०१८- आईफोन एक्सएस आर
२०१९- आईफोन ११ सिरिज
२०२०-आईफोन एसई
२०२०-आईफोन १२ मिनी
२०२०-आईफोन १२ सिरिज
२०२१- आईफोन १३ सिरिज
२०२२- आईफोन एसई थर्ड जेन
२०२२- आईफोन १४ सिरिज
२०२३- आईफोन १५ सिरिज
२०२४- आईफोन १६ सिरिज
आईफोन बाहेक के बनाउँछ एप्पलले?
एप्पलले सुरुमा कम्प्युटर बनाउन थालेको हो। कम्पनीले आफ्नो पहिलो ल्यापटप सन् १९९१ मा सार्वजनिक गरेको थियो। यसपछि कम्पनीले आफ्नो पहिलो म्याकबुक सन् २००६ मा लन्च गर्यो।
यस बाहेक एप्पलले आईप्याड, आईफोन, स्मार्टवाच, एयरपड्स, भिजन र यी उपकरणहरूसँग सम्बन्धित सामानहरू बनाउँछ।
एप्पलले आफ्नो पहिलो आईप्याड २०१० मा, स्मार्टवाच २०१५ मा, एयरपड्स २०१६ मा र भिजन २०२४ मा लन्च गरेको थियो।
आईफोन किन सुरक्षित मानिन्छ?
स्मार्टफोनमध्ये आइफोनलाई सबैभन्दा सुरक्षित मानिन्छ। यसका धेरै कारण छन्।
कम्पनीको आधिकारिक वेबसाइटका अनुसार आईफोनहरूमा ‘सेक्युरिटी चेक’ जस्ता सुविधाहरू समावेश छन्, जसले प्रयोगकर्ताको व्यक्तिगत विवरण तेस्रो पक्षसम्म पुग्नबाट रोक्छ।
यद्यपि, यो सुविधा आईओएस-१६ वा यसपछिका सफ्टवेयर चल्ने आईफोनहरूमा मात्र उपलब्ध छ।
‘सेक्युरिटी चेक’ अन्तर्गत आइफोनमा केही एपहरू उपलब्ध छन् जसले व्यक्तिगत जानकारीलाई सेयर हुनबाट जोगाउँछ।
आईफोनमा ‘सुरक्षा जाँच’ सुविधा प्रयोग गर्न, प्रयोगकर्तासँग ‘टु फ्याक्टर’ प्रमाणीकरण प्रयोग गर्ने एप्पल आईडी हुनुपर्छ।
आईफोन चोरी भएमा वा हराए पनि प्रयोगकर्ताको विवरणमा तेस्रो पक्षलाई पहुँच पुग्न दिँदैन।
यसबाहेक ह्याकिङ भाइरस वा साइबर आक्रमणबाट जोगाउन मोबाइलमा फिचरहरू पनि उपलब्ध छन्, जसले आइफोनलाई सुरक्षित बनाउँछ।
यसको पछिल्लो उदाहरण गत वर्ष पेगासस सफ्टवेयरसँग सम्बन्धित केस पनि हो। उक्त केस आएका बेला गत वर्ष धेरै भारतीय राजनीतिज्ञहरूको आईफोनमा सुरक्षा अलर्ट आएको थियो।
आईफोनका रेकर्ड
आइफोन प्रयोगकर्तामा अर्कै किसिमको क्रेज छ। जसकारण धेरै प्रयोगकर्ता महँगो मूल्य तिरेर पनि आईफोन किन्न रुचाउँछन्।
गत वर्ष (सन् २०२३) मा सन् २००७ मा आएको आइफोनको पहिलो मोडल(२००७ मोडल)किन्न एक व्यक्तिले १ लाख ९० हजार ३७२ अमेरिकी डलर तिरेका थिए। उक्त आईफोन पहिलो ४ जीबी मोडलको आईफोन थियो।
संसारभर आईफोन वा एप्पलका उत्पादनहरूको माग लगातार बढिरहेको छ।
ब्लूमबर्गको रिपोर्ट अनुसार भारतमा मात्र एप्पलको वार्षिक बजार ८ अर्ब डलरको कारोबार हुने गरेको छ। भारतमा एप्पलका सामग्रीको कारोबार ३३ प्रतिशतले वृद्धि भएको छ।
हालै भारतीय मूलका एक बेलायती युट्युबरले विश्वको सबैभन्दा लामो आइफोनको आकृति बनाएर आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गरेका छन्।
यो आईफोनको उचाइ ६.७४ फिट छ। अरुण रुपेश मैनीले ‘आईफोन १५ प्रो म्याक्स’ मोडलको आकृति बनाएका हुन्।
आईफोनसँग सम्बन्धित पाँच सबैभन्दा धेरै सोधिने प्रश्नहरू
-आईफोनको नयाँ मोडेलको मूल्य कति पर्छ?
-आईफोनका नयाँ सुविधा के छन्?
-आईफोनको क्यामेराको गुणस्तर कस्तो छ?
-के आईफोन पूर्ण रूपमा सुरक्षित छ?
-आईफोनमा फेस आईडीले कत्तिको राम्रोसँग काम गर्छ?


