मुम्बई- बलिउड अभिनेत्री मलाइका अरोडाका बुबा अनिल अरोडाले आफ्नै घरको कौसीबाट हामफालेर आत्महत्या गरेका छन्।
मुम्बइ, बान्द्रास्थित घरको ६ तलाबाट बुधबार बिहान हाम फालेका अनिलको अस्पतालमा मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यद्यपी बुधबार दिउँसोसम्म पनि प्रहरीले अनिल अरोडाको घरमा घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ।
घटनाको बारेमा थाहा पाएपछि मलाइकाका पूर्वश्रीमान् अरबाज खान पनि अनिलको घरमा पुगेका छन्। अनिलकी छोरी तथा मोडल मलाइका घटनाका बेला पूणेमा थिइन। घटनाको बारेमा जानकारी पाउनासाथ उनी पनि पूणेबाट मुम्बई आएकी छिन्।
मलाइका अरोडाका बुबा पन्जाबी हिन्दू परिवारका थिए। उनको परिवार मुम्बइ बान्द्रामा बस्दै आइरहेको थियो। मृतक अनिले भारतीय मर्चेन्ट नेवीमा काम गर्थे।
हालै मात्रको एउटा अन्तरवार्तामा अभिनेत्री तथा मोडल मलाइकाले आफ्ना अभिभावकहरुसँगको गाढा सम्बन्धबारे खुलेर कुराकानी गरेकी थिइन्। आफ्ना संकटका दिनमा बाबु अनिलले आफूलाई सदा सहयोग र उत्प्रेरणा प्रदान गर्नेगरेको भनाइ उनको थियो।


