काठमाडाैं- पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जितेका छन्।
फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पार्दै रोहितले अवार्ड जितेका हुन्।
रोहितको कप्तानीमा नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको थियो। उनको प्रेरणादायी नेतृत्वमा नेपालले २०८० सालमा पहिलो पटक एसिया कप खेल्यो।
उनको कप्तानीमा नेपालले एसिसी प्रिमियर कपको उपाधिसमेत जित्यो।
रोहित टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २५ खेलमा सर्वाधिक ६८० रन बनाउन सफल भएका थिए। जसमा ५ वटा अर्धशतक सामेल छन्। यस्तै उनले ४ विकेट पनि लिएका थिए।
कराँतेकी एरिका गुरूङले उत्कृष्ट महिला वर्षखेलाडीको अवार्ड जितिन्।
एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले ६८ केजी तौल समुहमा नेपालको लागि रजत पदक हात पारेकी हुन्।
एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।
पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी छन्।
उनले कुल ५६ प्रतिशत मत पाइन्। अवार्डसँगैे पल्सर एनएस ४०० मोटरसाइकल प्राप्त गरेकी छन्।
फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा उक्त विधामा मनोनयनमा परेका थिए।
लाइफ टाइम अचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डे सम्मानित भए।
उनले नेपाली क्रिकेटको विकासमा ६ दशक भन्दा वढी समय दिएका छन्।
२००५ देखि २०११ सम्म पाण्डे क्यानको अध्यक्षको पदमा रहेका थिए।
त्यस्तै उनी एसियाली क्रिकेट परिषद (एसीसी) को केन्द्रीय सदस्य हुंदै उपाध्यक्ष सम्मको जिम्मेवारीमा पुगे।
नेपाल आइसिसीको प्रतिबन्धमा परेपछि प्रतिबन्ध फुकाउन उनले भूमिका खेलेका थए।
उनले आइसिसी र एसिसीबाट इफटाइम सर्भिस अवार्ड पनि पाएका छन्। उनलाई १ लाख रुपैयाँले सम्मान गरिएको हो।
त्यस्तै भारोक्तन खेलका हेमन्त पाल प्लेयर अफ दि इयर घोषित भए। उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए। उक्त अवार्डका लागि क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, र टेनिसकी सुनिता थापा मनोनयनमा परेका थिए।
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा एथलिट अवार्डको उपाधि जितिन्। यसै महिना फ्रान्सको पेरिसमा सम्पन्न पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी पलेशाले पारा एथलिट अवार्ड जितेकी हुन्। तर यो अवार्ड भने उनले १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी हुन्।
विसं २०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो। उक्त अवार्डसहित उनले रु एक लाख प्राप्त गरिन्।
त्यसैगरी पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत स्पेशल अवार्ड भने भलिबलका कुमार राईले प्राप्त गरे। उनले नेपाली भलिबल खेलमा राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी जन्माउन महत्त्वपूर्ण योगदान दिएका थिए।
पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत टिम अफ दी इयरको अवार्ड भने नेपाली राष्ट्रिय महिला कबड्डी टिमले जितेको छ।
चीनको हाङचाउमा भएको १९औँ एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो। नेपालले टिमतर्फ जितेको यो पहिलो पदक थियो।
यसैगरी १९औँ एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने करातेका प्रशिक्षक कुशल श्रेष्ठ वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भए।
यस अवार्डको लागि श्रेष्ठसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कविराज नेगी लामा, भारात्तोलनका प्रशिक्षक सञ्जय महर्जन मनोनयनमा परेका थिए।
वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई जनही एक एक थान बजाज पल्सर मोटरसाइकल प्राप्त गरे भने बाँकीका विजेताले जनही रु एक लाख प्राप्त गरे।
विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव आयोजकका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले पुरस्कार प्रदान गरेका थिए।


