धनगढी- दसैं मनाउनका लागि भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन्।
पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमर धामी बेपत्ता भएका हुन्।
सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रवीन्द्र केसीका अनुसार धामी बिहान साढे ११ बजेतिर महाकाली नदीमा खसेका थिए।
बैतडीको दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजारनजिकै सडकबाट उनी महाकाली नदीमा खसेका थिए।
झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए।
धामी खसेको ठाउँमा सडक माथिबाट पहिरोसमेत खसेकाले खोजी कार्यमा असहज भएको छ।
उनी भारतमा रोजगारी गर्दै आएका थिए। उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।


