काठमाडौँ- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानहरूमा जथाभावी फोहोर फाल्नेहरूलाई कारबाहीमा तीव्रता दिएको छ। महानगरमा फोहोर गर्नेहरुलाई महानगरले कारबाही गरेको जानकारी दिएको हो।
गत वैशाख १२ गते महानगरले बागबजारको सार्वजनिक स्थानमा फोहोर थुपारेबापत कुमार लामिछानेलाई कारबाही गरेको थियो। महानगरले उनलाई सोही दिन ५ हजार जरिवाना तिराएको हो।

महानगरले तिराएको जरिमानाको रसिद।
सार्वजनिक स्थानमा फोहोर गर्नेहरुलाई निरन्तर कारबाही गर्दै आएको मेयर बालेन्द्र साहको सचिवालयले जानकारी दिएको छ। फोहोर फालेकै कारण कारबाही भोग्नेमा सर्वसाधारण मात्रै होइन, व्यापारी र विद्यालयसमेत छन्। काठमाडौं महानगरको तीनकुनेस्थित ट्रिटन कलेजले सार्वजनिक स्थानमा फोहोर गरेपछि वैशाख १६ गते महानगरले १० हजार जरिवाना तिराएको थियो।
त्रिपुरेश्वरस्थित जैसवाल जुस सेन्टर र अशोक जुस हाउसले सार्वजनिक स्थानमा फोहोर फालेबापत महानगरलाई वैशाख दुई दिनअघि मात्र पाँच–पाँच हजार जरिवाना तिर्नुपरेको थियो।
महानगरले फोहोर गर्नेलाई मात्र नभएर अनधिकृत चोरीपैठारी गर्नेलाई पनि कारबाही गर्दै आएको जानकारी दिएको छ। यसरी कारबाहीमा पर्नेमा पूर्णराज राई छन्। उनले मनोहरा खोलामा बालुवा चोरी तथा निकासी गरेबापत् महानगरले वैशाख २१ गते १० हजार जरिवाना गराएको थियो।

‘महानगरले जथाभावी फोहोर फाल्नेलाई मात्रै हैन, सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने काठमाडौं महानगरपालिकाभित्र कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न नपाइने महानगरले सूचना नै जारी गरेको छ,’ मेयर बालेन्द्र साहको सचिवलायले भन्यो, ‘अनधिकृत फोहोर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा गर्नेलाई महानगरले चेतावनी दिँदै आएको थियो। महानगर अब कारबाहीमा नै अघि बढेको छ।’
महानगरले पाँचदेखि १० हजारसम्म जरिवाना तिराउने गरेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे बताउँछन्। ‘सहरी सुन्दरताको लागि महानगरले संविधानको धारा ३० अनुसार स्वच्छ वातावरणको मौलिक हक कार्यान्वयनको कामलाई व्यवस्थापन गरेको छ। प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले दिएको छ,’ उनले भनेका छन्, ‘२०७९ चैत ३० गते प्रकाशन भएको काठमाडौं महानगरपालिकाको स्थानीय राजपत्रमा समावेश ‘काठमाडौं महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका — २०७९’ मा यस सम्बन्धी व्यवस्था छ।’
महानगरले हालै काठमाडौंका विभिन्न ठाउँमा रहेका बिजुलीका खम्बामा अनावश्यक तार हटाउन थालेको छ। सुन्दर महानगरका लागि मेयर साहले फुटपाथ व्यवसायलाई पनि व्यवस्थापनमा जोड दिँदै आइरहेका छन्।


