काठमाडौँ– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आठ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आइतबार बसेको आपतकालीन बैठक उनीहरूको परिवारलाई राहतस्वरुप उक्त रकम दिने निर्णय गरेको हो।
एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्र (एकेडेमी) मा पहिरो जाँदा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बाँनिया, अनुपम घलान र साईमन योञ्जनको पुरिएर मृत्यु भएको थियो।
बैठकले प्रत्येक दिवंगत खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष खोल्दिने निर्णय पनि गरेको छ।
उक्त घटनाबारे सत्यतथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन एक महिना भित्र पेश गर्ने गरी एन्फा केन्द्रिय सदस्य विकास नारायण श्रेष्ठको नेतृत्वमा तीन सदस्सीय छानबिन समिति पनि गठान गरिएको छ। समितिमा एन्फा सहायक महासचिव दामोदर भट्टराई र केन्द्रिय सदस्य टिकाराम लामा छन्।


