काठमाडौँ– दशैंको माहोलमा बज्ने गीतहरू एकाध मात्र छन्।
त्यसमध्ये गायक सुगम पोखरेलको ‘दसैं तिहार’ गीत दशैं भित्रिएसँगै युवापुस्ताको मोबाइल र ओँठमा गुन्जिन थालिसकेको छ।
अर्को भने संगीतकार कुल पोखरेल तथा गायक बादल प्रसाईको यसपालि दशैंमा ठूलो दाइ आउने रे गीत। त्यसैगरी योगेश्वर अमात्यको ‘दशैं नै हो कि यो मेरो दशा’ पनि हरेक वर्ष सुनिने गीत मध्येमा पर्छ।
र अर्को गीत छ, जुन २ दशकभन्दा बढी समयदेखि हरेक पुस्ताका लागि उत्तिकै कर्णप्रिय छ। अहिले पनि मोबाइल, टिभी वा रेडियोमा पक्कै गुन्जिरहेको हुनुपर्छ। त्यो गीत हो ‘दशैं आयो’।
घर आँगन वा गाउँ फर्किरहेको गाडीमा यो गीत गुन्जँदा दशैं आएको महसुस हुन थाल्छ। हरेक वर्ष गीतका सर्जक संगीतकार सुरेश अधिकारीलाई धेरैले यही भन्छन्, ‘तपाईंको गीत नबजी दशैं नै आउँदैन।’
हरेक चाडपर्वमा कुनै न कुनै गीतहरूले गहिरो छाप छाडेकै हुन्छन्। जस्तो कि लोचन भट्टराई र नुतन प्रधानको ‘भैलिनी आयो आँगन’ होस् वा तिजमा गुन्जिरहने फिल्म कन्यादानको ‘तिजको लहर’। यी पर्वहरूका ‘सिग्नेचर गीत’झैँ लाग्छन्।
यस्तै वर्षौँदेखि स्रोताहरूको मनमा एकछत्र वास गरिरहेको दसैं गीत ‘दशैं आयो’ कसरी रचियो। यसबारे यहाँ चर्चा गरिनेछ।
गीतको कथा
स्व. निर्देशक शिव रेग्मी निर्देशित फिल्म ‘मुग्लान’मा समावेश यो गीतमा सुरेश अधिकारीले संगीत भरेका थिए। फिल्मका कलाकार दिलिप रायमाझी, रमित ढुंगाना, विपना थापा, सुशील क्षेत्री, मिथिला शर्मा र झरना थापाले यसमा अभिनय गरेका छन्।
यो गीत जति चर्चामा आयो यसका सर्जक उत्तिकै विवादमा पनि गए। फिल्ममा लोकनाथ सापकोटाले कपिराइटको मुद्दा हालेपछि अहिले रचनाकारको नाममा उनैलाई पढ्न पाइन्छ। तर सुरेश आफैले लेखेको दाबी अझै पनि गर्नचाहिँ छाड्दैनन्।
फिल्मका लागि निर्देशक रेग्मीलाई खास गीत चाहिएको थियो, सुरेशले आफ्नो तर्फबाट खास दिने कोसिस गरे। र त्यो गीत फिल्ममा मात्र बजेन। घर, गाउँ, सहरमा हर दशैंमा बजिरह्यो। ‘दशैंमा मान्छेहरू यही गीतमा नाचिरहेको देख्छु। धेरैले यो गीत नबजी त दशैं आएकै लाग्दैन भनेको सुन्छु,’ उनी खुसी व्यक्त गर्छन्।
किन चलेनन् अरु गीत ?
विसं २०६० सालमा बनेको गीत हो यो। त्यसअघि पनि दशैं गीत नबनेका हैनन्। त्यसपछि पनि दशैं गीत थुप्रै बने। यसै वर्ष पनि युट्युवमा दर्जनौँ दशैं गीत सार्वजनिक भए। हुँदैछन् पनि।
तर कुनबेला आउँछन् र हराउँछन्, पत्तो हुँदैन।
किन त? अधिकारी भन्छन्, ‘यो स्तरको गीत अरु बनेनन्।’ उनलाई लाग्छ, यो गीतलाई रिप्लेस गर्न यही टिम लाग्यो भने पनि सय वर्षसम्म असम्भव छ। ‘यो गीत दशैंको पर्यायवाचीजस्तो भइसकेको छ,’ उनी गर्विलो सुनिन्छन्, ‘जसले पर्वलाई पनि परिचित गराउँछ।’
हिन्दु नेपालीहरूलाई दशैं महसुस गराउने यही गीतले संगीतकारको जीवनलाई सार्थक बनायो। ‘जीवनमा धुन निकाल्न सबैभन्दा कठिन भएको गीत थियो यो। त्यसको परिणाम जीवनभर पाइरहेको छु,’ सुरेश खुसीसाथ भन्छन्।


