काठमाडौँ– नक्कली शरणार्थी प्रकरणमा ‘हाइ प्रोफाइल’हरु पक्राउ पर्ने र मुछिने क्रम बढ्दै गएपछि स्वतन्त्र रुपमा नागरिकले भ्रष्टाचारविरुद्ध प्रदर्शनमा गरिरहेका छन्। काठमाडौंको माइतीघर मण्डलामा शनिबार बिहान ११ बजे विरोध प्रदर्शन गरिएको छ। सो प्रर्दशनमा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै युवाहरुले गीत र कविता वाचनमार्फत विरोध गरे।
तीन दिनअघि युवा अभियन्ता तथा उद्यमी दिव्येश गिरीले हामी नेपाली ह्यास्ट्यागसहित सामाजिक सञ्जाल मार्फत् गरेको आव्हानपछि स्वतस्फूर्त र स्वतन्त्र रुपमा तय भएको सो कार्यक्रममा प्रदर्शनकारीले भ्रष्टाचार सहन्नौं, भ्रष्टाचारीलाई कारगार, अर्थतन्त्र मन्द छ, भ्रष्टाचारको धन्दा छ जस्ता नारा लगाएका छन्। विरोध स्वरुप हातमा प्लेकार्ड बोकेका दर्जनौं सहभागीको लाममा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। गोविन्द केसी, विवेकशील साझाका मिलनपाण्डे, रन्जु दर्शनादेखि अरु क्षेत्रका व्यक्तित्वहरु पनि सहभागी थिए।
‘भ्रष्टाचारले सिंगो देशलाई नै दुःख दियो, यसका विरुद्ध सबै एक ठाउँमा आउनुपर्छ’ कार्यक्रममा सहभागी डा. केसीले नेपाल क्लिक्ससँग संक्षिप्त कुराकानी गर्दै भने, ‘जनताहरु आजित भइसके, सडकमा आउनुको विकल्प रहेन।’ उनले कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए। सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई सरकारले कारबाही गर्नुपर्ने बताए। उनले टोपबहादुर रायमाझीलाई अबिलम्व पक्राउ गर्नुपर्ने माग गरे। सरकारकै कमजोरीका कारण उनी फरार भएको र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको बचाउ गरिररहेको डा केसीले आरोप छ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दलभित्र पनि भ्रष्टाचार गर्ने मानिसहरु भएकाले उनीहरुलाई पनि कारबाही हुनुपर्ने उनले माग डा केसीको छ। प्रदर्शनमा विभिन्न दलका नेता, सामाजिक अगुवा, कलकारलगायत सर्वसाधारणको उपस्थिति थियो।
आजै अर्को एक समूहले नक्सालबाट पनि भ्रष्टाचार विरुद्ध खबरदारी सभा गर्दैछ। सो सभामा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु दलगत नभइ स्वतन्त्र रुपमा सहभागी हुने भनिएको छ।
त्यसैगरी देशका अन्य स्थानहरुबाट पनि भ्रष्टाचार विरुद्ध प्रर्दशन भएका खबरहरु प्राप्त भएका छन्। विराटनगर, भैरहवा, बुटवल, पोखरा, सिन्धुलीलगायतका स्थानमा भ्रष्टाचार विरोधी प्रदर्शनहरु भइरहेका छन्।
माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनका तस्बिरहरू














