काठमाडौँ- नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर ठगीमा संलग्न जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन माग गर्दै शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ।
यो प्रकरणमा प्रहरी अनुसन्धानका क्रममा उच्चस्तरीय राजनीतिक र प्रशासनिक व्यक्तित्वहरू नै संलग्न रहेको देखिएपछि जोगाउने चलखेल हुन सक्ने भन्दै दबाबमूलक र्याली प्रदर्शन गरिएको हो।
काठमाडौँको नक्सालस्थित नारायणचौरमा शनिबार दिउँसो नागरिकहरू भेला भएर भष्ट्राचारविरुद्ध नाराबाजी गरेका छन्। प्रदर्शनमा सहभागीहरूले भ्रष्टलाई कारबाहीको दायरमा ल्याउनुपर्ने नारा घन्काएका थिए।
प्रदर्शनमा दिउँसो १ बजेदेखि सर्वसाधारण, नागरिक अगुवा र विभिन्न पार्टीका नेता सहभागी थिए। प्रदर्शनमा अभियन्ता डा गोविन्द केसी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत सहभागी भए।
नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरू र उनीहरूका श्रीमतीहरुको समेत संलग्नता भएको हुन सक्ने आशंका भइरहेका बेला प्रदर्शनमा ‘दाइभाउजु मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर’, अति भो, अति भो, दाइभाउजूबाट देशलाई सास्ती भो’, ‘भन्नेछौँ हामी बारम्बार, भ्रष्टाचारीलाई कारबाही गर’, ‘नेतालाई सधैँ मोजमस्ती, जनतालाई सधैँ सास्ती’, ‘सरकार ठूला माछा पकडी, लगा छिटो हत्कडी’, ‘दलाली र भ्रष्टको जमात, पुलिस दाजु सबैलाई समात’लगायतका नारबाजी गरेका थिए। यस्तै नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शनकारीले बोकेका थिए।
















