काठमाडौँ- बालुवाटार घेर्न पुगेका रास्वपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई पक्राउ गरेको हो।
मंगलबार बालुवाटारको नेपाल हाउस रेस्टुरेन्ट अगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा सांसद चौधरीसहित काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरि, ध्रुव ढकाल र सवि खड्कालगायत पक्राउ परेको रास्वपाको भनाइ छ।
सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा अनुसन्धान गर्न प्रहरीले कात्तिक २ गते रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आइरहेको छ।
आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन्। लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ।














