काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशविरुद्धको साफ वुमन्न च्याम्पियनसिपको फाइनल जसरी पनि जित्ने बताएकी छन्।
अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५-१० वर्ष लाग्न सक्ने उनको भनाइ छ।
‘हाम्रो टिम बण्डिङ राम्रो छ। भोलि जित्नुपर्छ, अहिले जितेनौं भने अर्को टिम बन्न ५-१० वर्ष पर्खनुपर्छ’, मंगलबार आयोजित प्रिम्याच प्रेस कन्फ्रेन्समा कप्तान एन्जिलाले भनिन्, ‘हामी गर्छौं हामी जित्छौं भन्ने हाम्रो नारा छ।’
कप्तान एन्जिलाले बंगलादेशविरुद्ध खेल नेपालका लागि अवसर भएको बताइन्। साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा बुधबार घरेलु टोली नेपाल र साविक विजेता बंगलादेशबीच खेल हुनेछ। खेल बुधबार साँझ साढे ६ बजे सुरु हुनेछ।
नेपालले अहिलेसम्म साफ वुमन्स च्याम्पियनसिपको ६ मध्ये ५ संस्करणको फाइनल पुग्दा पनि उपाधि जित्न सकेको छैन। यसअघि सन् २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो। त्यसअघि नेपाल चार पटक फाइनलमा भारतसँग पराजित भएको थियो।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले फाइनल जित्ने सोचका साथ टिम खेल्न तयार रहेको बताए।


