काठमाडाैँ- मोरङको धनपालथान गाउँपालिका-४ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
मोरङ जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।
यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेल र उनकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छिन्।
कोइराला उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन्। सहकारी संकटमा परेपछि उनले पदबाट राजीनामा दिएकी थिइन्।
‘१० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उहाँहरूको नाम अहिले नै सार्वजनिक गर्दा गिरफ्तारीमा समस्या हुन सक्छ,’ उनले भने।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिएको छ। सहकारीले फिर्ता गर्नुपर्ने बचत रकम २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ।


