सोल- दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा सैनिक कानून लागू भएको घोषणा फिर्ता लिएका छन्।
संसद भवन (नेसनल एसेम्बली)मा १९० सांसदले उक्त निर्णयको विरोध गरेपछि बुधबार बिहानै राष्ट्रपतिले आफ्नै निर्णय फिर्ता लिने घोषणा गरेका हुन्। राष्ट्रपतिको घोषणा १२ घण्टा पनि टिक्न सकेन।
दक्षिण कोरियाका राष्ट्रपतिले भनेका छन्, ‘नेसनल एसेम्बलीको मागमा मार्शल ल हटाइएको छ। सेना फिर्ता गरिएको छ, म नेसनल एसेम्बलीको मागलाई स्वीकार गर्दछु।’
मार्सल ल हटाएको केही घण्टापछि दक्षिण कोरियामा विरोध प्रदर्शन सुरु भएको छ।
प्रदर्शनकारीले राष्ट्रपति योलको राजीनामाको माग गरिरहेका छन्।
मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा मार्सल ल लागू भएको घोषणा गरेका थिए।
मंगलबार राति राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति योलले यस्तो घोषणा गरेका थिए।
उत्तर कोरियाको कम्युनिस्ट शक्तिबाट देशलाई जोगाउन आफ्नो देशमा सैनिक शासन लगाउनु परेको उनको दाबी थियो।
सैनिक शासन लागू गरेपछि राष्ट्रविरोधी तत्त्वलाई देशबाट हटाउन पनि सकिने उनको जिकिर थियो।
यद्यपि राष्ट्रपति युन सुक-योलले सैनिक शासन (मार्सल ल) कहिलेसम्म लागू हुने भनेर खुलाएका थिएनन्।
आपतकालीन अवस्थामा मात्र सैनिक शासन लागू हुने व्यवस्था छ।
विपक्षी लोकतान्त्रिक पार्टीले सैनिक शासन लागू गर्नु असंवैधानिक भएको टिप्पणी गरेको थियो।
दक्षिण कोरियाको सञ्चारमाध्यमका अनुसार सेनाले सबै संसदीय कामकारवाही स्थगित गरेको घोषणा गरेको थियो।
योनहाप समाचार एजेन्सीले सांसदलाई सभा भवनमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो।
राजधानी सोलको विधानसभा भवन बाहिर ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिएको थियो।
दक्षिण कोरियामा सन् १९८० को दशकको अन्त्यमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक मार्सल ल घोषणा गरेका थिए।
मार्सल ल घोषणा गरे पनि नागरिक र राजनीतिक दलहरूका कुन अधिकार निलम्बित हुन्छन् भन्ने खुलाइएको थिएन।


