काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ५ विकेट गुमाएर पूरा ओभर खेल्दै १६९ को योगफल तयार पारेको हो।
लुम्बिनीका रोहित पौडेलले ९५ रन बनाएका थिए। उनले ५९ बलमा उक्त रन जोड्न सफल भएका थिए। १० चौका र ४ छक्काको मद्दतमा रोहिले ९५ रन जोडेका थिए।
लुम्बिनीका टोम मूर्सले ४५ रन बनाए। यस्तै सुदीप जोराले १८ रन जोड्न सफल भए।
बलिङतर्फ पोखराका विपीन खत्रीले २ विकेट लिए भने म्याट क्रिसचेलीले १ विकेट लिएका थिए।
लुम्बिनी र पोखरा दुवै टिमले एनपीएलका कुनै पनि खेल जितेका छैनन्। पोखराले यसअघि नै दुई हार खेपेको छ भने लुम्बिनीले पनि एक हार व्यहोरिसकेको छ। पोखराले जनकपुर र चितवनसँग हार व्यहोर्दा लुम्बिनीले विराटनगरसँग हारेको थियो।
तीन खेलमा तीनै खेल जितेको जनकपुर बोल्टस् ६ अंक जोड्दै प्रतियोगिताको शीर्ष स्थानमा छ।



