काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
सहकारी संस्थाको रकम अपचलन, कीर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति छैटौँपटक म्याद थप गर्न उनलाई अदालतले ४ दिनको म्याद थप गरिदिएको हो।
रविमाथि अनुसन्धानका निम्ति पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपिएको थियो। उक्त अवधि आइतबार सकिएकाले उनलाई फेरि म्याद थप गरिएको हो।
लामिछानेलाई १३ दिन म्याद थप गर्न प्रहरीले अदालतसँग अनुमति माग गरेको थियो।
गत कात्तिक २ गते रवि काठमाडौँबाट पक्राउ परेका थिए। त्यसयता पटकपटक म्याद थप गर्दै उनलाई हिरासतमा राखिएको छ।
कास्कीबाटै उनलाई रुपन्देही, काठमाडौँ र चितवन पुर्याइसकिएको छ।
लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ।
रविलाई पक्राउ पर्सा जिल्ला अदालतले पनि अनुमति दिइसकेको छ। कास्की अदालतबाट म्याद थपको अनुमति लिएपछि प्रहरीले रविलाई पर्सा पुर्याउने तयारी गरेको छ।


