काठमाडौँ- सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स ५१ रनमा समेटिएको छ।
एनपीएलमा जनकपुरले पहिलो हार व्यहोर्दा सुदूरपश्चिमले ७२ रनको जित हासिल गरेको हो।
टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि जोसुआ ट्रम्पले १३ रन बनाउनु सर्वाधिक रह्यो। उनले मात्र दोहोरो स्कोरमा रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
जनकपुरलाई सस्तैमा समेट्ने क्रममा हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले २-२ विकेट लिए। त्यस्तै स्कट कुगलिङ्ग, नरेन साउद र साइफ जैबले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।
राम्रो सुरुवातका बाबजुत मध्य क्रम र पछिल्लो क्रमले लगातार विकेट गुमाउँदा सुदुरपश्चिम सामान्य स्कोरमा समेटियो। पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेको उसले थप ६८ रन जोड्द ९ विकेट गुमाएको थियो। तर मध्यम लक्ष्यमा पनि उसले फराकिलो जित निकाल्न सफल भयो।
खेलाडी आशिफ शेख सम्मिलित टिम जनकपुरलाई उनका दाजु आरिफ शेखको टिम सुदूरपश्चिमले हराएको हो। यी दाजुभाइ पहिलोपटक एनपीएल मैदानमा भेट भएका हुन्।
यसअघि जनकपुरले खेलेका चारै खेल आफ्नो पक्षमा पारेको थियो। सुदूरपश्चिम चारमध्ये एक खेलमा पराजित थियो। अब यी दुवै टिमले एकएक खेलमा पराजित भएको आँकडा तयार पारेका छन्।
जनपुर बोल्ट्सले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेल पनि आठै विकेटले कर्णालीलाई हराएको थियो। तेस्रो खेलमा पोखरालाई सात विकेटले पराजित गर्यो। जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सविरूद्ध संघर्षपूर्ण जित निकालेको थियो। बुधबार जनकपुरको जितयात्रामा सुदूरपश्चिमले ब्रेक लगायो।
विराटनगरविरूद्ध ९० रनको जित, दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको सुदूरको टिमले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो। चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित हुन पुगेको थियो।
सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी र जनकपुरमा आशिफ शेख मार्की खेलाडी छन्। सुदूरपश्चिमले लिगमा जितसँगै पाँचौं खेलमा चौथो जित निकाल्दै ८ अङ्क बनाएको छ। जनकपुरको पनि ८ अङ्क रहेको छ।
बुधबारै काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स पनि मैदानमा भिडिरहेका छन्।


