काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो पटक सुपर ओभर भएको खेलमा पोखरा विजयी भएको छ।
सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगर ५ रनमा समेटिएपछि पोखरा विजयी भएको हो।
योसँगै पोखराले एनपीएलमा दोस्रो जित निकालेको हो। विराटनगर भने अब प्लेअफ सम्भावना कमजोर बनेको छ।
सुपर ओभरमा बलिङका लागि आएका विराटनगरका सन्दीप लामिछानेको बलमा रेइमन रेफरले सुरुवाती २ बलमै छक्का प्रहार गर्दै कुल ३ बाउन्ड्रिज प्रार गर्दै १९ रन बनाएको थियो। जवाफमा विराटनगर रेफरकै बलमा ५ रन मात्र बनायो।
त्यसअघि निर्धारित २० ओभरको खेलमा विराटनगरले १ सय ३९ रन बनाएको थियो। जवाफमा १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले पनि निर्धारित २० ओभरमा १ सय ३९ रननै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
१ सय ४० रनको लक्ष्य पछ्याएको पोखराका लागि आन्द्रेस गौसले ३९ रन बनाउँदा कुशल भुर्तेलले ३१ रन बनाए। त्यस्तै रेमन रेइफरले ३४ रनको अविजित इनिङ खेले। थप दोहोरो स्कोरका रुपमा दिनेश खरेल र माइकल लिस्कले समान ११-११ रन बनाए। विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिँदा क्रिस सोलेले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। बिराटनगरका लागि स्कट एडवार्डले ४५ रन बनाउँदा लोकेश बमले २६ रन बनाए।
त्यस्तै निकोलस कीर्टनले १९ रन बनाउँदा बसिर अहमदले २१ रन बनाएर अविजित रहे। पोखराका लागि सागर ढकालले २ विकेट लिंदा रेमन रेइफर, दिनेश खरेल र कुशल भुर्तेलले समान १-१ विकेट लिए।











