काठमाडौँ- एनपीएल अन्तर्गत शनिबार भएको खेलमा काठमाडौँ गुर्खाजले सहज जित निकालेको छ।
स्टेफेन इस्किनाजीको अर्धशतकमा काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।
इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौँले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो।
जितसँगै ६ खेलमा तेस्रो जित हात पारेको काठमान्डुले प्लेअफ पुग्ने सम्भावना पनि कायम राखेको छ। ६ खेलबाट ६ अंक जोडेको काठमाडौँ चौथो स्थानमा उक्लेको छ।
काठमान्डुका ओपनर इस्किनाजीले ३४ बल खेल्दै १० चौका प्रहार गरे। माइकल लेभिटले १८ बलमा ३२ रन बनाए । यस्तै भिम शार्कीले २० बलमा २२ रन बनाए।
बलिङमा पोखराका विपिन खत्रीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। माइकल लिस्कले १ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो।
पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे।
यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए। उनले रासिद खानको एकै ओभरमा लगातार चार चौका सहित १८ रन जोडेका थिए। तर त्यही ओभरको अन्तिम बलमा आउट भए।
यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाए।
बलिङमा काठमान्डुका कप्तान करण केसी र रासिख खानले ३-३ विकेट लिए । करणले ४ ओभरमा २४ र रासिदले ४ ओभरमा ४३ रन खर्चिए। जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान १ विकेट लिए । एरासमसले ४ ओभरमा १४ तथा लेभिटले ३ ओभरमा १३ रन खर्चिए।


