काठमाडौँ- नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिमले ‘क्वालिफायर’ मा स्थान बनाएको छ। आइतबार भएको खेलमा सुदूरपश्चिमले पोखरालाई ५ रनले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ६ खेल खेल्दा ५ मा जित हासिल गरेको सुदूर एक खेल बाँकी छँदै क्वालिफायरमा पुगेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा अलआउट हुँदै १४८ रनमै सीमित भयो।
पोखराका आन्द्रे गौसले ३६ रन बनाउँदा रेमन रिफरले ३३ रन बनाए। त्यस्तै, किरन ठगुन्नाले ३२ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा दिनेश खरेलले १५ रन बनाएका थिए।
सुदूरपश्चिमका लागि स्कट कुग्लिङ्गले ५ विकेट लिँदा हर्मित सिंहले २ विकेट लिए। त्यस्तै, साइफ जाइबले १ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको अविजित इनिङ्स खेले। उनले ३८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेका थिए।
७० रन जोड्दा ४ विकेट गुमाएको सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखदे पाँचौं विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए। ऐरी १६ बलमा २० रन बनाएर आउट भएका थिए। त्यसअघि विनोद भण्डारीले १४ रन बनाउँदा ब्रान्डन म्याकमुलनले २३ रन बनाएका थिए। त्यस्तै, हर्मित सिंह १३ रनमा आउट भए।
पोखराका लागि कुशल भुर्तेलले २ विकेट लिँदा रेमन रेइफर, सागर ढकाल र माइकल लिस्कले समान १–१ विकेट लिएका थिए।












