एजेन्सी – जर्जियाको एक रेस्टुरेन्टमा एक्कासि कार्बन मोनोअक्साइड ग्यास लिकेज हुँदा १२ जना भारतीय नागरिकको मृत्यु भएको छ।
स्की रिसोर्टमा रहेको भारतीय रेस्टुरेन्ट रहेको भवनको दोस्रो तल्लामा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रेष्टुरेन्टमा भएको मृत्युको घटनाको अनुसन्धान अनुसार सुत्ने कोठा नजिकैको बन्द ठाउँमा पावर जेनेरेटर राखिएको खुलेको छ। भवनमा शुक्रबार राति विद्युत् सर्ट भएको थियो। जसका कारण उनीहरूको मृत्यु भएको हो।
जेनेरेटरबाट निस्केको कार्बन मोनोअक्साइड ग्यासका कारण रेस्टुरेन्टमा शव छरपष्ट भएको थियो। चुहावट हुँदा उनीहरू सबै सुतिरहेका थिए। गहिरो निद्रामा रहेका कारण मानिसहरू भाग्न नपाएका प्रहरी अधिकारीहरूले बताएका छन्।
यसैबीच त्यहाँको प्रहरीले लापरवाहीका कारण यस्तो भएको हुन सक्ने भन्दै सूक्ष्म तरिकाले अनुसन्धान गरिएको बताएको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन फरेन्सिक मेडिकल जाँच गर्न आदेश दिइएको छ।
भारतीय दूतावासले भने घटनाप्रति गहिरो समवेदना प्रकट गरेको छ। यता जर्जिया सरकारले भने ११ जना भारतीय र १ जना आफ्ना नागरिक भएको दाबी गरिरहेको छ।


