काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत इलिमिनेटर राउन्डको खेलमा कर्णाली याक्स विजयी हुँदै क्वालिफायरमा प्रवेश गरेको छ।
१७६ रनको लक्ष्य पछ्याएको चितवनलाई कर्णालीले २१ रनले पराजित गरेको हो।
चितवनले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सकेपछि कर्णाली विजयी भएको हो।
चितवनका राइनोजका रवि बोपाराले खेलमा अर्धशतक पूरा गरे। उनले ३४ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा उनले ५३ रन जोडर आउट भए। कुशल मल्लले २१ रन बनाउँदा अन्य खेलाडीले २० रन कटाउन सकेनन्।
बलिङतर्फ जिसन मक्सुदले ३, सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए। यस्तै विपीन शर्माले १ विकेट लिएका थिए।
बुधबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।
खेलमा कर्णालीका विलियम बोसिस्टोले अर्धशतक पूरा गरेका थिए। उनले ३ चौका र २ छक्काको मद्दतमा ३९ बलमा ५२ रन जोडका थिए।
यसअघि आजकै खेलमा जयकिसन कोलसावालाले पनि अर्धशतक पूरा गरेका थिए। ३९ बलमा ६ चौका र २ छक्काको मदतमा उनले ५३ रन बनाएका थिए।
कर्णाली याक्सका चाडविक वाल्टन भने ४ रनले अर्धशतक बनाउनबाट चुके। बलिङतर्फ चितवनका सोयल तनवीरले २ विकेट लिँदा शरद भेस्वाकर, रवि बोपारा र कुशल मल्लले समान एकएक विकेट लिएका थिए।
योसँगै चितवन प्रतियोगिताबाट बाहिरिएको छ।
बुधबारै क्वालिफायर राउन्डको पहिलो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीच दिउँसो १ बजे सुरु हुँदैछ। यो खेलमा पराजित हुने टिमसँग कर्णालीले प्रतिस्पर्धा गर्नेछ भने विजयी टिम सिधै फाइनल प्रवेश गर्नेछ।


